इलाम : “मन लगाएर गरे के हुँदैन र ?” यसको जवाफ इलाम, माइजोगमाईका दिपेश निरौलाले दिएका छन्। बिहान सबेरै सूर्योदयसँगै खेततिर हेर्दा हरियो खोर्सानीका बोटहरू लहलह देखिन्छन्। त्यहाँ केवल खोर्सानीका बोटहरू मात्र छैनन्, तर तिनलाई हेरेर माया गरेर खेती गर्ने माइजोगमाई–१ का युवक दिपेश पनि भेटिन्छन्।
खेतीको काममै रमाइरहेका निरौलाले अहिले गाउँकै उदाहरण बनिसकेका छन्। विदेशमा पसिना बगाएर फर्किएका दिपेश अहिले आफ्नै माटोमा मेहनत गरेर युवाहरूका लागि प्रेरणाको स्रोत बन्ने प्रयासमा छन्।
केही समय रोजगारीको खोजीमा उनी भारतको केरला पुगेका थिए। तर त्यहाँको जीवन सहज भएन; आम्दानी न्यून र खर्च बढी भयो।
‘विदेशमा श्रम त गरेँ तर जीवनयापन सहज भएन,’ उनले सम्झिए। त्यसपछि गाउँ फर्केर केही गर्ने सोच दिमागमा आयो। परिवारसँग सल्लाहपछि उनले कृषिलाई पेसा बनाउने निर्णय गरे।
गत वैशाखमा उनले करिब ९ हजार खोर्सानीका बिरुवा रोपेका थिए। सुरुवाती चरणमा करिब तीन लाख रुपैयाँभन्दा बढी लगानी भए पनि, बाटोको सुविधा नपुगेकाले मलखाद र सामग्री ढुवानीमै ठूलो खर्च भयो। त्यसबेला उनले निष्कर्ष निकाले – काम सजिलो छैन, तर परिश्रम गरे सम्भव छ।
आज त्यही खेती १०–११ रोपनीमा फैलिएको छ। हप्तामा करिब ३०० किलो खोर्सानी उत्पादन हुँदैछ र अझै बढ्नेमा उनी आशावादी छन्।
दिपेश केवल खेतीमै सीमित छैनन्। उनले आफैँ खोर्सानी प्याकेजिङ र ब्रान्डिङ गरेर बजारसम्म पुर्याउँछन्। उत्पादन गरिएको खोर्सानी पशुपतिनगर, फिक्कल, बिर्तामोड, दमक, काठमाडौँ र भारतका बजारसम्म पुग्छ।
‘खुद्रा बिक्री गर्दा उचित मूल्य पाइँदैन। तर ब्रान्डिङ गरेर बेच्दा विश्वास बढ्छ र नाफा पनि राम्रो हुन्छ,’ उनी भन्छन्।
तीन दाजुभाइ मिलेर खेतीदेखि उद्योगसम्म जिम्मेवारी बाँडेका छन्। दाजु कमल कम्पनी सम्हाल्छन्, अर्का दाजु दिनेश उत्पादन र प्याकेजिङ गरिएको सामानको बजार हेरफेर गर्छन्।
खोर्सानी मात्र होइन, दिपेशले अचार उद्योग पनि सञ्चालन गरेका छन्। लप्सी, टमाटर, टिमुर, खोर्सानी लगायत स्थानीय रैथाने १५ भन्दा बढी अचारका साथै कोदो र फापरको पिठो ‘शक्ति फुड प्रोडक्ट’, सूर्योदय–९ बाट प्रशोधन गरेर बजारमा पठाउँछन्।
आफ्नै ब्रान्डमार्फत सामान बेच्दा किसानलाई उचित मूल्य मात्र होइन, गाउँका अन्य युवाहरूलाई पनि रोजगारी मिलेको छ।
दिपेशको सङ्घर्ष र सफलताले माइजोगमाईका अन्य युवाहरूमा आशा जगाएको छ। विदेशमा वर्षौं श्रम गरेर फर्किनुको सट्टा आफ्नै गाउँमा मेहनत गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने देखाउन उनी सफल भएका छन्। ‘देशमा सम्भावना छैन भन्ने होइन, अवसरलाई चिन्ने र काम गर्ने साहस चाहिन्छ,’ दिपेश भन्छन्।
प्रतिक्रिया