बागमती प्रदेशलाई स्थानीय सेवा PIS पोर्टलको पूर्ण पहुँच हस्तान्तरण

सोमबार, २४ कार्तिक २०८२

हेटौँडा : स्थानीय सेवामा कार्यरत कर्मचारीहरूको सूचना व्यवस्थापन प्रणाली (Local Level PIS Portal) को पूर्ण पहुँच (Full Access) बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ।

यस प्रणाली सञ्चालनमा आएपछि बागमती प्रदेशभित्र रहेका ३ महानगरपालिका, १ उपमहानगरपालिका, ४१ नगरपालिका र ७४ गाउँपालिकासहित कुल ११९ स्थानीय तहमा कार्यरत ७,९९६ जना कर्मचारी लाभान्वित हुने भएका छन्।

साथै, स्थानीय सेवाअन्तर्गतका ‘अन्य सेवा’ का कर्मचारीहरू पनि यस प्रणालीबाट लाभान्वित हुने जनाइएको छ, यद्यपि उनीहरूको विवरण अझै प्रणालीमा अद्यावधिक हुन बाँकी छ।

सो अवसरमा राष्ट्रिय किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल र बागमती प्रदेश सरकारका प्रदेश सचिव बाबुराम गौतमबीच एक समझदारी पत्र (MOU) मा हस्ताक्षर भएको हो।

हस्ताक्षरसँगै राष्ट्रिय किताबखानाले औपचारिक रूपमा Local Level PIS Portal को पूर्ण पहुँच बागमती प्रदेश सरकारलाई उपलब्ध गराएको हो।

कर्मचारी समायोजन ऐन २०७५ बमोजिम तीनै तहका सरकारमा कर्मचारी खटाइए पनि उनीहरूको विवरण व्यवस्थापन गर्ने प्रणाली (Personnel Information System–PIS) को पहुँच अहिलेसम्म केवल राष्ट्रिय किताबखानाकै मातहत थियो। तर अबदेखि बागमती प्रदेश सरकारले आफ्नै ११९ स्थानीय तहमा कार्यरत स्थानीय सेवा अन्तर्गतका कर्मचारीहरूको सूचना व्यवस्थापन स्वयम् गर्न सक्ने भएको छ।

प्रशासनिक सङ्घीयताको मर्मअनुरूप यसै साताभित्र मधेश र कोशी प्रदेशसँग पनि समझदारी पत्रमा हस्ताक्षर हुने तयारी भइरहेको राष्ट्रिय किताबखानाका महानिर्देशक पोखरेलले जानकारी दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार