पत्रकार महासङ्घ अध्यक्ष शर्मा विवादित कार्यक्रममा सहभागी, प्रेस युनियन बेलायत शाखाद्वारा बहिष्कार घोषणा

आइतबार, १८ साउन २०८२

लण्डन : नेपाल पत्रकार महासङ्घ बेलायत शाखाको विवादित कार्यक्रममा सहभागी हुन पुगेकी महासङ्घकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा विवादमा तानिएकी छन्।

पूर्वअध्यक्ष विपुल पोखरेल र कार्यवाहक अध्यक्ष वाला अधिकारीद्वारा जारी परिपत्र विपरीत गठन भएको विमला सेने नेतृत्वको समूहले आइतबार आयोजना गर्न लागेको 'साधारणसभा तथा स्थापना दिवस' कार्यक्रममा शर्मा प्रमुख अतिथि बन्ने भएपछि विवाद तानिएकी हुन।

नेपाल प्रेस युनियन बेलायत शाखाले उक्त कार्यक्रमलाई पूर्णतः एकपक्षीय भन्दै कडा आपत्ति जनाएको छ।

युनियनका अध्यक्ष विपिन निरौलाले शनिवार राति जारी विज्ञप्तिमा अधिकांश संस्थापक सदस्यहरू अनुपस्थित रहने अवस्थामा महासङ्घ अध्यक्ष र बेलायतस्थित नेपाली राजदूतको सहभागिता विषयमा अतिरञ्जित प्रचारप्रसार भएको भन्दै विरोध जनाएका छन्।

शाखाभित्रको विवाद समाधानका लागि वरिष्ठ पत्रकार भगीरथ योगीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन भए पनि समितिले काम थाल्नुअघि नै अध्यक्ष शर्मा विवादित समूहको कार्यक्रममा सहभागी हुने निर्णयले एकताको सम्भावना झनै क्षीण बनेको विज्ञप्तिमा उल्लेख छ।

युनियनले विमला सेने नेतृत्वको समूहद्वारा एकपक्षीय रूपमा आयोजना गर्न लागिएको कार्यक्रममा बेलायतस्थित नेपाली पत्रकारहरूको साझा संस्था विभाजन गर्ने उद्देश्य रहेको आरोप लगाएको छ। साथै, सो कार्यक्रम बहिष्कार गर्ने घोषणा गर्दै नेपाली समुदाय र सङ्घ–संस्थालाई उक्त कार्यक्रममा सहभागी नहुन अनुरोधसमेत गरेको छ।

संस्थापक सदस्यहरूको भावना कुल्चेर आयोजना गर्न लागिएको सो कार्यक्रमबाट उत्पन्न हुनसक्ने कुनै पनि असहज परिस्थिति तथा जिम्मेवारी नेपाल पत्रकार महासङ्घ स्वयंले बहन गर्नुपर्नेछ,ु प्रेस युनियन युकेले विज्ञप्तिमार्फत चेतावनी दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार