काठमाडौँ : देशभर मनसुनी वायुको प्रभाव जारी रहँदा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतिर सरेको छ, जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ।
आइतबार दिउँसो सबै प्रदेशमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ भने कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने देखिएको छ।
आइतबार राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा अन्य प्रदेशका केही स्थानमा मेघ गर्जनसहित मध्यम वर्षा सम्भावित छ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने मौसम पूर्वानुमान जारी गरिएको छ।
सोमबार पनि देशभर वर्षा कायमै रहनेछ। सबै प्रदेशमा मेघ गर्जनसहित मध्यम वर्षा हुने देखिएको छ भने कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना छ।
आगामी केही दिन विशेषगरी मधेश प्रदेशसहित देशभर मनसुन थप सक्रिय हुने देखिएकाले मौसमविद्हरूले सर्वसाधारणलाई सतर्क रहन र समय समयमा मौसमको पछिल्लो जानकारी लिन आग्रह गरेका छन्।
भारी वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने र पहिरो तथा डुबानको जोखिम रहने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रतिक्रिया