ट्रम्पको दोस्रो कार्यकालमा देश निकाला दोब्बर : अमेरिकाबाट ७ हजार २४४ भारतीय देश निकाला

आइतबार, १८ साउन २०८२

काठमाडौँ : अमेरिकामा डोनाल्ड ट्रम्प पुनः राष्ट्रपति बनेसँगै भारतीय नागरिकको देश निकाला दोब्बर भएको छ ।

अमेरिकी अध्यागमन प्रशासनले कडा नीति लागू गरेपछि सन् २०२५ को पहिलो सात महिनामा मात्रै १ हजार ७०३ भारतीयलाई देश निकाला गरेको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार, सन् २०२० जनवरीदेखि २०२५ जुलाईसम्मको साढे पाँच वर्षमा अमेरिका बाट ७ हजार २४४ भारतीयलाई विभिन्न कारणमा फिर्ता पठाइएको छ।

तीमध्ये झन्डै एक चौथाइ अर्थात् १ हजार ७०३ जनालाई ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि निष्कासित गरिएको हो।

ट्रम्प प्रशासनले २०२५ को सुरुमा अध्यागमन कडा पार्दै भिसा उल्लङ्घन गर्नेहरूको भिसा रद्द गरी स्वदेश फर्काउन विशेष अभियान चलाएको हो।

अमेरिकी विदेश विभागका अनुसार, कानुन नमान्ने विदेशीहरूलाई ‘शून्य सहनशीलता’ नीति अन्तर्गत देश निकाला गरिन्छ।

यस वर्ष चार्टर तथा सैन्य उडानमार्फत ८६४ जना भारतीय फिर्ता पठाइएको छ। फेब्रुअरीमा मात्रै तीन सैन्य उडानमा ३३३ जना, मार्च, जुन र जुलाई महिनामा चार्टर उडानबाट ५३१ जनालाई फर्काइएको थियो।

७४७ जना व्यावसायिक उडानमार्फत र ७२ जना पानामाबाट स्वदेश फर्किएका छन्।

राज्यगत विवरण हेर्दा सबैभन्दा बढी पञ्जाबका ६२० जना देश निकाला भए। त्यसपछि हरियाणाका ६०४, गुजरातका २४५, उत्तर प्रदेशका ३८, गोभा २६, महाराष्ट्र र दिल्लीका २०–२०, तेलंगाना १९, तमिलनाडु १७, आन्ध्र प्रदेश र उत्तराखण्डका १२–१२ तथा कर्नाटकका ५ जना निर्वासित भएका छन्।

ट्रम्प प्रशासनको नीति यथावत् रहेमा आगामी महिनामा पनि भारतीय नागरिकको देश निकाला उच्च हुने अनुमान गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार