काठमाडौँ : बडादसैँको मुख्य दिन आज देशभरका अधिकांश स्थानमा मौसम प्रतिकूल रहेको छ। केही स्थानमा वर्षा भएपछि दशैं मनाउने कार्य प्रभावित भएको छ।
जल तथा मौसम विज्ञान विभागले असोज १८–२० गतेसम्म विशेष सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
विभागका अनुसार विशेषगरी बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ तथा मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला तथा बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको छ।
विभागका अनुसार बङ्गालको खाडीमा विकसित न्यूनचापीय मौसमी प्रणाली भारतको ओडिसाबाट मध्य भारततर्फ सर्ने क्रममा नेपालमा मनसुनी वायु प्रवेश गराउनेछ। यसका कारण असोज १७–२० गतेसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी गतिविधि सक्रिय हुने सम्भावना छ।
हालको विश्लेषणअनुसार नारायणी, बागमती, कमला र कोशी नदी तथा यीका सहायक नदीमा बहाव उल्लेख्य बढ्ने र खतरा तहसम्म पुग्ने अनुमान गरिएको छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र मधेस प्रदेशका महाभारत र चुरे क्षेत्रबाट बहने स–साना नदीनालामा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ।
यता, असोज १७ गतेदेखि मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी अनुसार सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ। जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले भारी वर्षाको समयमा कृषिकर्म गर्दा विशेष ध्यान दिन कृषकहरूलाई अनुरोध गरेका छन्।
प्रतिक्रिया