भूपरिवेष्टित राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जाँदै

आइतबार, १८ साउन २०८२
तस्बिर : फाइल

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली आइतबार तुर्कमेनिस्तानको अवाजा सहर प्रस्थान गर्दैछन् । उनले साउन २० देखि २३ गतेसम्म हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्ने छन् ।

उक्त सम्मेलन तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र राष्ट्रसङ्घ महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा आयोजना हुँदैछ ।

सम्मेलनमा ओलीले विश्वव्यापी समन्वय ब्युरो अध्यक्षका रूपमा सम्बोधन गर्ने र उच्चस्तरीय गोलमेच बैठकको सह-अध्यक्षता गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्रीसँगै श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्यबहादुर थापा क्षेत्री लगायत उच्च अधिकारी टोलीमा छन् । ओली साउन २३ गते स्वदेश फर्कनेछन् ।

यसअघि यो सम्मेलन सन् २०१४ मा भियनामा र सन् २००३ मा कजाकस्तानको अल्माटीमा भएको थियो ।

सम्मेलनले समुद्रमा पहुँच नभएका ३२ भूपरिवेष्टित राष्ट्रबिच सहकार्य गर्दै यातायात, खाद्यान्न र पूर्वाधार अभाव जस्ता साझा चुनौती समाधान गर्ने उद्देश्य लिएको छ ।

यसअघि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सम्मेलनमा नेतृत्व गर्ने भनिए पनि अन्ततः प्रधानमन्त्री ओली स्वयं सहभागी हुने निर्णय भएको हो ।

प्रधानमन्त्रीले शनिवार राष्ट्रपति पौडेललाई भ्रमणबारे जानकारी गराएका थिए । सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न प्रधानमन्त्रीको सहभागिता महत्त्वपूर्ण हुने सरकारी अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार