मन्थली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले विपी राजमार्ग, मध्यपहाडी राजमार्गसहित आसपासका सडक तथा पुलहरूको निरीक्षण तथा अनुगमन गरेका छन्।
सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका मन्त्री घिसिङले बडादसैँको बिदाको अवसरमा पनि मन्त्रालयका प्राविधिक तथा उच्च अधिकारीलाई साथमा लिएर स्थलगत निरीक्षण गरेका हुन्।
काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लामा पर्ने महत्वपूर्ण सडक खण्डका भत्किएका संरचना र अलपत्र अवस्थामा रहेका पुल तथा पूर्वाधारहरूको निरीक्षण गरी उनले तत्काल आवश्यक मर्मत–सम्भारका लागि सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन्।
सङ्घीय राजधानी काठमाडौँबाट विपी राजमार्ग हुँदै गृहजिल्ला रामेछाप पुगेका मन्त्री घिसिङले खैरेनीघाटको पुल र निर्माणाधीन मध्यपहाडी लोकमार्गको प्रगतिबारे जानकारी लिए।
बाढी–पहिरोलगायतका कारण भत्किएका संरचनाहरूलाई अस्थायी रूपमा भए पनि छिटो मर्मत गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले पक्की पुल भत्किएको ठाउँमा ‘बेली ब्रिज’ र ‘कल्भर्ट’ निर्माण गर्न तथा सडकका खाल्टाखुल्टी तुरुन्त मर्मत गरी यातायात सहज बनाउन निर्देशन दिएका छन्।
प्रतिक्रिया