काठमाडौँ : सार्वजनिक विद्युतीय सवारी (इभी) प्रति व्यवसायी र यात्रुको आकर्षण बढ्दो छ । सवारी सङ्ख्या मात्र बढेको छैन, यात्रुको रोजाइ पनि विद्युतीय सवारी हुन थालेको छ ।
वातावरणमैत्री र ध्वनि प्रदूषणमुक्त मात्र होइन, एक पटक लगानी गरेपछि सञ्चालनमा खासै खर्चिनु नपर्ने भएकाले व्यवसायीहरू यसतर्फ आकर्षित छन् । सामान्यतया इन्धनको बसले दैनिक पाँच हजार पाँच सय रुपियाँको तेल खर्च गर्दा विद्युतीय बस एक हजार पाँच सय बराबरको चार्जबाट चल्छ ।
पछिल्लो समय विद्युतीय बस आयातको तथ्याङ्क हेर्दा पनि लगानीकर्ता र यात्रुको आकर्षण बढेको देखिन्छ । आर्थिक वर्ष २०८१/८२ को तथ्याङ्क अनुसार एक वर्षमा ३१ अर्ब ७६ करोड रुपियाँ बराबरको १३ हजार ५७८ विद्युतीय सवारी आयात भएका छन् ।
२०८०/८१ मा ११ हजार ७०१ वटा आयात भएका थिए । विद्युतीय सवारीसाधन आयातमा निरन्तर वृद्धि भई रहनुले पनि आकर्षण बढेको देखिन्छ ।
भन्सार विभागको २०८१/८२ को तथ्याङ्क अनुसार एक वर्षमा नौ अर्ब ४८ करोड रुपियाँभन्दा बढी मूल्यका यात्रुवाहक विद्युतीय सवारी आयात भएको छ ।
कुल तीन हजार १३२ वटा सार्वजनिक विद्युतीय बस, मिनिबस र माइक्रो बस आयात गर्दा करिब दुई अर्ब १० करोड रुपियाँ राजस्व सङ्कलन भएको देखिन्छ ।
सरकारले सार्वजनिक विद्युतीय सवारीलाई प्रोत्साहनको नीति लिएपछि ठुला विद्युतीय सवारी आयात ह्वात्तै बढेको देखिएको छ । आयात भएका तीन हजार १३२ सार्वजनिक विद्युतीय सवारी चीनबाट ल्याइएको छ ।
५० किलोवाटसम्मका चार हजार ७३२ विद्युतीय सवारी र ५१ देखि १०० किलोवाट क्षमताका सात हजार ४३१ सवारी आयात भएको छ ।
भर्खर विद्युतीय सवारी सञ्चालन गरेको महानगर यातायातका सचिव केशव नेपालले भने, “अहिले काठमाडौँ उपत्यका धुलो धुवाँले तहसनहस छ ।
धुवाँ फाल्ने पुराना गाडीभन्दा नयाँ विद्युतीय बसमा यात्रा गर्न पाउँदा यात्रुको रोजाइ नहुने त कुनै भएन ।” एसी सुविधासहित अनलाइन भुक्तानीका साथै सिसी क्यामरासमेत हुने भएकाले यात्रुले सुरक्षित महसुस गर्ने गरेको खनालले बताए ।
साझा यातायातले सञ्चालन गरेका विद्युतीय बस अपाङ्गतामैत्री भएकाले पनि आकर्षण बढेको व्यवसायी बताउँछन् ।
विद्युतीय बसको यात्रा आरामदायी र इन्धनबाट चल्ने बसले जस्तो स्वास्थ्यमा असर नपु¥याउने हुँदा वातावरणदेखि सबैका लागि उपयुक्त भएको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।
आव २०८१/८२ मा चीनबाहेक भारतबाट तीन हजार २४६ विद्युतीय सवारी आयात गरिएको छ । त्यस्तै मलेसियाबाट ५०, जर्मनीबाट ४५, संयुक्त राज्य अमेरिकाबाट ११, दक्षिण कोरियाबाट छ र इन्डोनेसियाबाट चार वटा विद्युतीय सवारी आयात भएको तथ्याङ्क छ ।
प्रतिक्रिया