झापामा बाढीको उच्च जोखिम : साइरन बज्न थाले,सतर्क रहन आग्रह

आइतबार, १८ साउन २०८२

झापा : लगातारको वर्षापछि झापाका विभिन्न क्षेत्र बाढीको उच्च जोखिममा परेका छन् । पछिल्लो २४ घण्टामा अनारमनी, चन्द्रगढी र केचनालगायत स्थानमा १२९ मिलिमिटरसम्म वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यसले कचनकवल, बारदशी, झापा, गौरीगञ्ज र कनकाई नगरपालिकाका तटीय बस्तीमा खतरा बढाएको छ ।

बाढी सतर्कता प्रणालीअन्तर्गत बारदशी गाउँपालिका–३ को भागडुब्बा, कचनकवल–५ को पिनडालबारी, झापा गाउँपालिकाको कुवाडी र गौरीगञ्ज–५ को कुञ्जीबारीमा जडान गरिएका साइरन बज्न थालेपछि जोखिम क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ । स्थानीय तहले नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गर्दै उद्धार तथा राहतको पूर्वतयारी तीव्र पारेको छ ।

झापा गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जु थपलियाले साइरनमार्फत पूर्व सूचना प्रवाह भइरहेको बताउँदै भनिन्, “हामीले सचेतना र पूर्वतयारीमार्फत जोखिम न्यूनीकरणमा जोड दिएका छौँ । स्थानीयलाई सुरक्षित स्थानमा सार्ने कामलाई प्राथमिकतामा राखेका छौँ ।”

कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले कनकाई नदीको सतह खतराको सीमामा पुगेको जनाउँदै तत्काल उद्धार, राहत र स्थानान्तरणका लागि नगरपालिका तयारी अवस्थामा रहेको बताए ।

जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय र स्थानीय तहको संयुक्त टोलीले प्रभावित क्षेत्रको अनुगमन गर्दै उद्धार र राहतको तयारी गरेको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जानकारी दिए । स्थानीय वासीहरूमार्फत स्वयंसेवक परिचालन गरी जोखिम क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।

यसैबिच, झापाको मेचीनगर नगरपालिकाभित्र पर्ने कालीखोला, इलिफेन्ट क्रसिङ डाइभर्सन र माई नदी पश्चिमको भालुखोला क्षेत्रमा डाइभर्सन क्षति पुग्ने सम्भावना बढेपछि एसियन हाइवे आयोजना उच्च सतर्कतामा रहेको छ । आयोजना प्रमुख इञ्जिनियर सुनिलबाबु पन्तले कर्मचारी, जेसिभी र एक्स्काभेटर तयारी अवस्थामा राखिएको जानकारी दिए ।

मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले सडक डाइभर्सन क्षेत्रमा बाढी पसेमा वैकल्पिक यातायात व्यवस्थापन र मर्मत कार्य तत्काल सुरु हुने बताए । उद्धार टोली परिचालित भइसकेको र इन्जिनियरिङ समूह पनि तयारी अवस्थामा रहेको उनको भनाइ छ ।

बाढी विज्ञहरूले नदी छेउका कचनकवल, झापा, बारदशी, गौरीगञ्ज, कनकाई क्षेत्रका नागरिकलाई सतर्क रहन, सामान सुरक्षित राख्न र आवश्यक परेमा सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । मौसम विभागले आगामी दिनमा पनि भारी वर्षा हुनसक्ने चेतावनी दिँदै जोखिम क्षेत्रका नागरिकलाई थप सतर्क रहन आग्रह गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार