रसुवामा सात किलोभन्दा बढी सुनसहित एक व्यक्ति पक्राउ

आइतबार, ०४ जेठ २०८२
सांकेतिक फाईल

रसुवा : रसुवागढी नाकाबाट अवैध सुनसहित एक नेपाली नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति गोसाइँकुण्ड गाउँपालिका ५ स्याफ्रुबेसीका २९ वर्षीय किशोर भुजेल हुन्।

प्रहरीका अनुसार, आइतबार अपराह्न चीनबाट नेपालतर्फ आइरहेको बा ४ ख ६२०१ नम्बरको मालवाहक गाडी (स्याउ बोक्ने डिब्बा गाडी) मा लुकाइछिपाई ल्याइएको ७ किलो ६५३ ग्राम सुन बरामद गरिएको हो। उक्त गाडीका चालक भुजेललाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो।

रसुवा प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीले गाडी चेकजाँच गर्ने क्रममा सुन फेला परेको जानकारी दिए। हाल बरामद गरिएको सुन र पक्राउ परेका चालक भुजेलबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार