पुँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालनमाथि प्रशिक्षण

शुक्रबार, १६ जेठ २०८२

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र स्टक ब्रोकर एसोसिएसन अफ नेपालको संयुक्त आयोजनामा "पुँजी बजार सुदृढीकरणका लागि प्रविधि, सुशासन र अनुपालन" विषयक एकदिने प्रशिक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कार्यक्रममा नेप्सेमा आवद्ध ९२ वटा कारोबार सदस्य (ब्रोकर तथा डिलर) संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा सूचना प्रविधि सम्बन्धी कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्घाटन नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले गर्नुभयो। उहाँले उद्घाटन मन्तव्यमा भने, "वित्तीय क्षेत्रमा हुने क्रियाकलापले अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले नियमन र सुपरिवेक्षणमा राज्यको विशेष ध्यान रहन्छ। धितोपत्र बजारको सुदृढीकरणका लागि यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन हुनु आवश्यक छ।"

कार्यक्रमको अध्यक्षता गर्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले प्रविधि, सुशासन र अनुपालन अहिलेको पुँजी बजारको अत्यन्त महत्वपूर्ण पक्ष भएको बताउँदै लगानीकर्तालाई सुरक्षित, सहज र विश्वसनीय सेवा प्रदान गर्ने बताए ।

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालले पछिल्लो समय नियामक निकाय नेपाल धितोपत्र बोर्ड र बजार सञ्चालक नेप्सेमा देखिएको सकारात्मक सुधारको चर्चा गर्दै सम्बद्ध सबै निकायहरू एउटै धारणा लिएर अघि बढ्नुपर्नेमा जोड दिए।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक डा.हरिकुमार नेपालले सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी गतिविधिमा लगानी नियन्त्रणसम्बन्धी कार्यपत्र प्रस्तुत गरे । त्यसैगरी, सिडिएस एण्ड क्लियरिङ लिमिटेडका उपप्रवन्धक योगराज जोशीले कारोबार राफसाफ तथा फछ्र्यौटबारे जानकारी गराए ।

अन्य प्रस्तोताहरूमा नेप्सेका सहायक आइटी प्रवन्धक निशा तिमिल्सिना (नट्स सञ्चालन), निरन्जन सिंह नायक (टिएमएस सञ्चालन), सहायक प्रवन्धक गिरिराज दाहाल (दोश्रो बजार कानुनी व्यवस्था) र कामु नायब प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल (समग्र दोश्रो बजार कारोबार) रहेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार