बजेट निजी क्षेत्रलाई उत्साहित बनाउने गरी आएको छ, कार्यान्वयनमा चुक्न हुँदैन : चन्द्र ढकाल

सोमबार, १९ जेठ २०८२
File Photo

काठमाडौं :  नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटले निजी क्षेत्रका धेरैजसो सुझाव समेटेको भन्दै यसले निजी क्षेत्रलाई उत्साहित बनाएको बताएका छन्।

इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)ले आयोजना गरेको ‘बजेट अ होलिस्टीक डिस्कोर्स’ कार्यक्रममा बोल्दै ढकालले निजी क्षेत्रको माग अनुसार बजेटले धेरै सकारात्मक प्रावधान ल्याएको बताए। “हामीले आफ्ना फाइदाका लागि मात्र होइन, समग्र अर्थतन्त्रको सुदृढीकरणका लागि सुझाव दिएका थियौं,” उनले भने, “सरकारले तीमध्ये धेरै सुझावलाई कानुन र बजेटमार्फत सम्बोधन गरेको छ।”

ढकालका अनुसार, बजेटले खनिजजन्य वस्तुको निर्यात खुला गर्ने प्रस्ताव राखेकोमा निजी क्षेत्र उत्साहित देखिएको छ। उनले भने, “खनिज निर्यातका लागि उद्योगले प्रक्रिया पूरा गरेपछि अनुमति दिने व्यवस्था आएको छ, जसले हाम्रो माग सम्बोधन गरेको छ।”

त्यस्तै, विशेष आर्थिक क्षेत्रको भाडा सहजीकरण, अन्तर्राष्ट्रिय सभा हलको निर्माण जस्ता विषय पनि बजेटमा समावेश हुनु सकारात्मक संकेत भएको उनले बताए।

तर, उनले केही सुझावहरू भने बेवास्ता गरिएको उल्लेख गरे। विशेषगरी जलविद्युत क्षेत्रमा ‘टेक एन्ड पे’ व्यवस्था र पीपीए मोडलले निजी लगानीकर्तालाई निरुत्साहित गर्न सक्ने खतरा रहेको उनको भनाइ थियो। “यसले विदेशी लगानी भित्र्याउन र बैंक फाइनान्समा समस्या ल्याउनेछ,” उनले चेतावनी दिए।

पर्यटन क्षेत्रमा सीमा नजिकका होटलहरूका लागि विदेशी मुद्राको थ्रेसहोल्ड हटाइनु स्वागतयोग्य कदम भएको उनले बताए। उनले यसले पर्यटन व्यवसायमा केही सहजीकरण ल्याउने विश्वास व्यक्त गरे।

ढकालले कार्यान्वयन नै मुख्य चुनौती भएको उल्लेख गर्दै अतीतको उदाहरण दिए। “धौवादी फलाम खानीको कुरा बारम्बार बजेटमा आउँछ, तर कार्यान्वयन नहुँदा लगानीकर्तामात्र होइन, आमनागरिक पनि निराश बन्नुपरेको छ,” उनले भने।

उनका अनुसार, बजेटमा आएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कार्यान्वयन पक्षमा सरकारले दृढता देखाउनुपर्नेछ। “बजेटमा घोषणा मात्रै होइन, प्रभावकारी कार्यान्वयन भए मात्र निजी क्षेत्र र समग्र अर्थतन्त्र लाभान्वित हुन्छ,” उनले जोड दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार