काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रूपन्देही कारागारबाट डिल्लीबजार कारागार स्थानान्तरण गर्ने प्रक्रिया हाललाई रोकिएको छ। लामिछानेले कारागार स्थानान्तरणका लागि निवेदन दिएको एक साताभन्दा बढी समय बितिसक्दा पनि प्रक्रिया अघि बढ्न सकेको छैन।
लामिछानेले रूपन्देही कारागार प्रशासनमार्फत कारागार व्यवस्था विभागमा पठाउन निवेदन दिएका थिए। तर विभागले सो निवेदन आफूहरूले प्राप्त नगरेको बताएको छ। कारागार व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले विभागमा निवेदन नपुगेको स्पष्ट पार्दै भने, "उहाँले विभागमा निवेदन दिनुभएको होइन, रूपन्देही कारागारमा दिनुभएको हो। त्यो निवेदन विभागमा आइपुगेको छैन।"
यता रास्वपा पार्टी कार्यालयका सचिव प्रमोद न्यौपानेले लामिछानेले एक साता अघि नै निवेदन दिएको दाबी गरे। "निवेदन दिएको त एक साताअघि नै हो। तर अहिलेसम्म किन प्रक्रिया अघि बढेन, हामीलाई थाहा छैन," उनले भने।
रूपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुरको बुटबल इजलासले लामिछानेलाई थुनामा राख्न आदेश दिएपछि चैत २२ गते उनलाई काठमाडौंबाट पक्राउ गरी रूपन्देही कारागार चलान गरिएको थियो। उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका लामिछानेको रिट निवेदन पनि जेठ ९ गते सर्वोच्चले खारेज गरिदिएको थियो।
सुप्रिम सहकारीसँगै लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको साहारा सहकारीमा समेत रकम ठगीको अभियोगमा मुद्दा विचाराधीन छन्। पर्साको सानोपाइला सहकारीसम्बन्धी ठगीको मुद्दा भने अझै दर्ता भइसकेको छैन।
प्रतिक्रिया