सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा ५ जनाविरुद्ध मुद्दा

बुधबार, २७ चैत्र २०८१
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७७/७८ र आव २०७८/७९ का लागि सेनिटरी प्याड खरिदमा प्रतिप्याकेट ७९ दशमलव एक रुपैयाँ कायम गरी ठेक्का गरिएको थियो । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफविरुद्ध ५१ लाख ९९ हजार एक सय २० रुपैयाँ बराबरको बिगो माग दावी गरी मुद्दा दायर गरेको जनाएको छ । यस्तै, आयोगले सागरदेवी फर्मा हेटौंडा तथा त्यसका सञ्चालक विमलेश साहविरुद्ध पनि समान बिगो दावी गरिएको छ । सरकारी कर्मचारीसँग मिलेमतो गरी गैरकानुनी लाभ हासिल गरेको आरोप आयोगले सञ्चालक साहविरुद्ध पनि लगाइएको छ । आरोपी सबैलाई बिगो बमोजिम कारवाहीको माग गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार