विराटनगर : मोरङको उर्लाबारी नगरपालिका–७ स्थित पूर्वेली टोलका ३८ वर्षीय रजत थापा मिथुन नामले परिचित छन् ।
मिथुन आफ्नै घरबाट लागुऔषधसहित आइतबार साँझ पक्राउ परेका छन्। यसअघि नै उनीविरुद्ध विभिन्न ७ वटा मुद्दा चलिसकेको छ । जसमा ज्यान मार्ने उद्योगदेखि अभद्र व्यवहार र केही सार्वजनिक अपराधसम्बन्धी मुद्दा छन् ।
विभिन्न अपराधमा संलग्न भएर मुद्दा खेप्दै आएका उनी पछिल्लो समय लागुऔषध कारोबारीमा सक्रिय रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मिथुनले १ दशकभन्दा अघिदेखि गुण्डागर्दीका माध्यमबाट समाजमा आतंक मच्चाउँदै आएका थिए । तर, कानुनी कारबाहीको घेरामा परे पनि उनी पटक–पटक छुटेर पुनः आपराधिक क्रियाकलापमै फर्कँदै आएका थिए।
पछिल्लोपटक भने लागुऔषध कारोबारमा मुछिएर प्रहरीको फन्दामा परेका छन्। इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रञ्जन बराल र लागुऔषध नियन्त्रण ब्युरो, काँकडभिट्टाका सई सोमेश लामिछानेको नेतृत्वमा गएको संयुक्त टोलीले आइतबार साँझ ६ बजे मिथुनको घरमा छापा मारेको थियो। घर खानतलासी गर्दा घरभित्र लुकाएर राखिएको ठूलो परिमाणको लागुऔषधसहित नगद बरामद भएको छ ।
प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार ५५ ग्राम ब्राउन सुगर (खैरो हेरोइन)जस्तो लाग्ने पदार्थ, कोरेक्सजस्तो देखिने ५ बोतल झोल पदार्थ, २ वटा डिजिटल तराजु र २ लाख ८८ हजार २ सय ५० रुपैयाँ नगद फेला परेको छ। तीमध्ये ४ बोतलमा प्रतिबोतल १ लिटर र बाँकी एउटामा १ सय मिलिलिटर कोरेक्सजस्तो देखिने झोल पदार्थ थियो । उक्त नगद रकम लागुऔषधको कारोबारबाट आर्जन गरिएको हुन सक्ने प्रहरीको भनाइ छ।
प्रहरीले उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन सोमबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ । प्रहरीका अनुसार, मिथुनको आपराधिक यात्रा २०७१ सालबाट सुरु भएको हो। सोही वर्ष चैत १९ गते झापाको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले सार्वजनिक अपराध ऐनअन्तर्गत पहिलोपटक उनीविरुद्ध मुद्दा चलाएको थियो। त्यसयता उनीविरुद्ध उर्लाबारी र काठमाडौंबाट विभिन्न मुद्दा चलेको रेकर्ड प्रहरीसँग छ ।
पटके प्रतिवादी मिथुनलाई उर्लाबारी प्रहरीले २०७२ जेठ २४ र असार ९ मा सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दर्ता गरेको थियो भने २०७७ फागुन २४ मा अभद्र व्यवहार मुद्दा चलाइएको थियो। त्यसपछि २०७९ मंसिर २ गते ज्यान मार्ने उद्योग र २०८० साउन २४ मा फेरि अभद्र व्यवहार मुद्दा दर्ता भएको थियो।
मिथुनविरुद्ध २०८१ साउन २७ मा काठमाडौंको प्रहरी वृत्त गौशालाबाट पनि ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा चल्यो । काठमाडौंको केएल टावरअगाडि मीनराज शाहीमाथि साउन २३ गते छुरा प्रहार गरिएको थियो। यस घटनामा मिथुनसहितलाई प्रतिवादी बनाइएको थियो। तर, उनी उक्त घटनापछि फरार रहँदै आएका थिए।
प्रहरी स्रोतका अनुसार, मिथुनविरुद्ध दर्ता गरिएका ७ मध्ये ६ वटा मुद्दामा फैसला आइसकेको छ । काठमाडौंमा चलाइएको ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा भने उनी अझै फरार रहेको देखिन्छ।
‘उनीविरुद्ध विगतमा मुद्दै मुद्दा चलेको प्रहरी अधिकारी बताउँछन् । ‘हालसम्म ७ वटा मुद्दा दर्ता भएका रहेछन्। ६ वटा मुद्दाको किनारा लागिसकेको रहेछ। काठमाडौंबाट चलेको एउटा मुद्दामा भने उनी फरार रहेछन्,’ प्रहरी स्रोतले भन्यो।
पक्राउ परेर छुटेपछि फेरि अपराधमै संलग्न हुने प्रवृत्ति मिथुनमा दोहोरिने गरेको प्रहरीले बताएको छ। पछिल्लोपटक भने उनी मोरङमा लागुऔषध कारोबारमा मुछिएको अवस्थामा पक्राउ परेका हुन्।
प्रहरीले मिथुनसँगै लागुऔषध कारोबारमा अन्य व्यक्ति पनि संलग्न भएको हुनसक्ने आशंका गरेको छ । कारोबारमा उनी एक्लै थिए कि अरु पनि संलग्न छन् भन्ने कुरा अनुसन्धानबाट पुष्टि हुने डीएसपी चुँडालले बताइन् । प्रारम्भिक रूपमा उनी घरमै रहेर कारोबार गरिरहेको देखिए पनि पछाडिबाट सञ्जाल सञ्चालन गरिरहेको हुनसक्ने प्रहरीको आशंका छ ।
प्रतिक्रिया