टिकटकमा जनावर काटेको भिडिओ भाइरल बनाएको आरोपमा दुई जना पक्राउ

मंगलबार, २७ जेठ २०८२

दुहबी : सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ६ मा जनावर काटेको भिडिओ सामाजिक सञ्जाल टिकटकमा भाइरल बनाएको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। सार्वजनिक शान्ति खलल पार्ने कानुनी प्रावधान विपरीत गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

पक्राउ पर्नेहरूमा दुहबी-६ बस्ने ३४ वर्षीय मो. मुख्तार र सोही स्थानका २५ वर्षीय जिया हुसेन रहेका छन्। इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले दिएको जानकारी अनुसार दुई दिनदेखि ‘mukhtaralam546’ नामक टिकटक आईडीबाट जनावर काटेको भिडिओ भाइरल भएको थियो। भिडिओ पोस्ट गर्ने व्यक्तिले हाल उक्त पोस्ट डिलिट गरिसकेका छन्।

टिकटकमा भिडिओ सार्वजनिक भएपछि यसको व्यापक विरोध भएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा छाला निकाली सकिएको जनावर देखिएको प्रहरी निरीक्षक तिमिल्सिनाले बताएका छन्। कुन जनावर थियो भन्ने अनुसन्धान भइरहेको उनले जानकारी दिए।

प्रहरीले जनावर काटिएको ठाउँबाट छाला र हाड बरामद गरेको छ। बरामद गरिएको ठाउँमा राँगा काट्ने गरेको पाइएको पनि तिमिल्सिनाले बताए। तर, गाई नै भन्ने अवस्था नरहेको प्रहरीको भनाइ छ।

हाल सामाजिक सद्भाव खलल पुग्ने देखिएकाले यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ। प्रमाण सङ्कलन गर्ने काम भइरहेको छ र सार्वजनिक शान्ति खलल पार्न नहुने कानुनी मान्यता अनुरूप दुवैलाई अदालतबाट सात दिनको म्याद थप भइ नियन्त्रणमा राखिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार