नेपालले नेदरल्याण्ड्सलाई १६ रनले हरायो, 'डण्डी'का चार खेलमा तीनमा जित

मंगलबार, २७ जेठ २०८२
PHOTO : CAN

आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले नेदरल्याण्डसलाई १६ रनले पराजित गरेको छ ।

मंगलबार स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याउने क्रममा डच टोलीले ४९.२ ओभरमा सबै विकेट गुमाएर २२० रन मात्र बनाउन सक्यो ।

नेदरल्यान्ड्सका वेस्ली बारासीले सर्वाधिक ३६ रन बनाए । कप्तान स्कट एड्वार्ड्सले ३०, ओपनर माइकल लेभिटले २७, काइल क्लेइनले २५ र नोह क्रोएसले २२ रन थपे ।

नेपालका सन्दीप लामिछाने र नन्दन यादवले समान तीन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिँदा कुशल भुर्तेल र करण केसीले एक-एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३६ रनको योगफल खडा गरेको थियो । 

नेपालका लागि आरिफ सेखले सर्वाधिक ८४ रन बनाए । 

यस्तै, कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले समान ३५ रन थपे । ओपनर कुशल भुर्तेलले १८ रन जोड्दा बसिर अहमेद र करण केसीले समान ११ रन जोडे । नन्दन यादव १० रनमा अविजित रहे । यादवले नेपालबाट डेब्यु एकदीवसिय खेल खेलेका हुन् ।

नेदरल्यान्ड्सका पउल भान मिकेरेनले चार विकेट लिए । माइकल लेभिटले तीन विकेट लिँदा आर्यन दत्तले एक रन थपे ।

योसँगै नेपालले चारमध्ये तीन जित निकाल्दै स्कटल्यान्डको डण्डीमा भएको शृंखलाको अन्त्य गरेको छ । प्रतियोगितामा यसअघि नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो । तेस्रो खेलमा भने नेपालले स्कटल्यान्डसँग दुई रनको हार बेहोरेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार