अत्यधिक गर्मीका कारण पूर्वमा ३ करोड बढीका कुखुरा मरे, कृषक चिन्तामा

विहीबार, २९ जेठ २०८२

इटहरी :  पूर्वी तराईका जिल्लाहरूमा अत्यधिक गर्मीको का कारण धमाधम कुखुरा मर्न थालेपछि किसान मारमा परेका छन् । चर्को गर्मीका कारण चल्ला उत्पादन गर्ने प्यारेन्ट जात,अण्डा उत्पादन गर्ने लेयर्स जात, तथा मासु उत्पादनका लागि पालिने ब्रोइलर जातका  कुखुराहरू ठुलो सङ्ख्यामा मर्न थालेका हुन् । 

कुखुरा मर्न थालेपछि पोल्ट्री व्यवसायीहरूलाई करोडौँ रुपैयाँ बराबरको क्षति पुर्‍याएको छ।

विशेषगरी सुनसरी, मोरङ, र आसपासका जिल्लामा चिसो वातावरण आवश्यक पर्ने जातका कुखुरा पालन गरिँदै आएको छ। तर पछिल्ला केही हप्तायता तापक्रम ३६ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि फर्ममा रहेका कुखुराहरू भटाभट मर्न थालेका छन्।

मोरगंको शुन्दरहैचामा  रहेको अमूल्य ह्याचरी उद्योग सञ्चालन गर्दै आएका व्यवसायी सन्तोष कार्कीले पछिल्लो केही दिनमै आफ्ना दुई हजार दुई सय प्यारेन्ट कुखुरा मरेको जानकारी दिए। उनले भने, “गर्मीको कारण ताप नियन्त्रण गर्न नसक्दा कुखुराहरू भटाभट मर्न थाले। धेरै मिहिनेत गरेर हुर्काएका कुखुरा यसरी मरेपछि व्यवसायमै सङ्कट आइलागेको छ।”

क्लोज हाउस प्रविधिबाट १० हजार बढी प्यारेन्ट कुखुरा पालिरहेका कार्कीका अनुसार एउटा कुखुरा उत्पादनमा मात्रै दुई हजार पाँच सय खर्च हुने गर्छ। ह्याचरी उद्योग सङ्घका कोशी प्रदेश सदस्य समेत रहेका कार्कीले गर्मीकै कारण कोशी प्रदेशमा ३ करोड बढीको कुखुरा मरेको प्रदेश खबरसंग बताएका छन् ।

यस्तै रामधुनी नगरपालिका–७ स्थित झुम्का एग्रो फर्मकी सञ्चालिका भावना कार्कीले पनि गर्मीले ठुलो क्षति पुर्याएको  बताइन्। तापक्रम नियन्त्रणमा चुनौती आएपछि एक हजार दुई सय बढी लेयर्स जातका कुखुरा मरेका छन्। कार्कीका अनुसार यसबाट १५ लाख रुपैयाँभन्दा बढीको घाटा भएको छ।

“यसरी त कहिल्यै मरेको थिएन, गाड्न ठाउँ नपाएर समेत समस्या भयो,” उनले भनिन्।

WhatsApp Image 2025-06-12 at 18.18.20

सुनसरीको प्रकाशपुरस्थित कोशी कृषि तथा पोल्ट्री फर्मका सञ्चालक धनशेर लिम्बुले अत्यधिक प्रयासपछि मात्र आफ्नो फर्मका कुखुरा बचाउन सफल भएको बताए।

उनले भने,

हामीले गर्मीको असर न्यूनीकरण गर्न विशेष उपाय अपनायौँ ।

WhatsApp Image 2025-06-10 at 21.21.03 (2)पूर्वाञ्चल एग्रोटेक, इटहरी–१० मा पनि ३ हजारभन्दा बढी कुखुरा मरेको जानकारी आएको छ। उता मोरङको बुढीगंगा गाउँपालिका–७ डंग्राहास्थित काजी एग्रो प्रा.लि.मा गर्मीका कारण ४ हजार कुखुरामध्ये ९ सय मरेको सञ्चालक रमेश थापाले जानकारी दिए।

उनले भने, “भारत–नेपाल सीमा क्षेत्रबाट अबैध चल्ला भित्रिने क्रम रोकिएको छैन। त्यसमाथि गर्मीले स्थिति भयावह बनाएको छ। हाम्रो फार्ममा मात्रै २२ लाख रुपैयाँभन्दा बढी घाटा भयो।”

थापाले किसानहरूको समस्याप्रति सम्बन्धित निकायको बेवास्ता र अनुगमनको कमीले थप समस्या भएको गुनासो गरे। “अब त फार्म जान मनै लाग्दैन, व्यापार चौपट भयो,” उनले पीडा पोखे। 

WhatsApp Image 2025-06-12 at 18.18.21

त्यस्तै, सुनसरीको धरान र कालाबन्जार क्षेत्रमा कृषि कर्म गर्दै आएका व्यवसायी बमबहादुर खड्काले पनि ४ सय बोइलर कुखुरा मरेको जानकारी दिए। उनले भने, “बोइलर जातको कुखुरा भएकाले तुलनात्मक रूपमा कम क्षति भयो होला, तर साना किसानका लागि यो क्षतिले पनि ठुलो धक्का दिएको छ।”

स्थानीय किसान, व्यवसायी र पोल्ट्री सङ्घहरूले लगातार गर्मीको प्रभाव न्यूनीकरण गर्न ठोस योजना बनाउन सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्। उनीहरूले वातावरण अनुकूल क्लोज हाउस प्रविधिको सहुलियतमा प्रवर्द्धन, वैकल्पिक ऊर्जा स्रोतको प्रयोग तथा सीमाबाट हुने अबैध चल्ला व्यापारमा नियन्त्रण गरिनुपर्ने माग गरेका छन्।

यदि तत्काल समाधान खोजिएन भने पूर्वी तराईको पोल्ट्री उद्योगमा थप क्षति पुग्ने, बेरोजगारी बढ्ने र अण्डा–मासुको अभाव झनै चर्किने सम्भावना रहेको सरोकारवालाहरूको भनाइ छ।

प्रतिक्रिया

पवन अधिकारी
लेखकको बारेमा
पवन अधिकारी

सम्बन्धित समाचार