इटहरी : अवैध क्रिप्टोकरेंसी कारोबारमा संलग्न ६ जनालाई प्रहरीले इटहरीबाट पक्राउ गरेको छ । नेपालमा क्रिप्टोकरेंसी कारोबार गैरकानुनी मानिएको सन्दर्भमा, डिजिटल मुद्राको प्रयोग गरी करोडौँ रुपैयाँ बराबरको कारोबार गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलीले लामो समयदेखि निगरानीमा राख्दै आएको सूचनाका आधारमा छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा इटहरी ११ का २६ वर्षीय चन्दन डोम, इटहरी १२ का ३२ वर्षीय लालबहादुर गौतम, इटहरी ७ का २२ वर्षीय सन्तोषकुमार शाह र मोरङको सुन्दरहरैचा २ का २० वर्षीय निशानकुमार खवास रहेका छन् ।
यस्तै, इटहरी १२ खनारका २७ वर्षीय प्रभुनारायण चौधरी र इटहरी ११ का २७ वर्षीय प्रशिन चौधरी पनि पक्राउ परेका छन् । उनीहरूले विभिन्न एप्स मार्फत अमेरिकन डलर, भारतीय रुपैयाँ तथा नेपाली रकमका साथै अन्य देशका अभौतिक मुद्राहरू कारोबार गर्दै आएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीका अनुसार पक्राउ परेकाहरूले डिजिटल मुद्राको अवैध कारोबार गर्दै आएका थिए । उनीहरूका साथबाट ट्रान्सेक्सनमा प्रयोग गरिएका विभिन्न मोबाइल, ल्यापटप र अन्य डिजिटल डिभाइसहरू बरामद गरिएको छ ।
ती डिभाइसहरूको प्रारम्भिक विश्लेषणबाट एक महिनाको अवधिमा करोडौँ मूल्य बराबरको क्रिप्टो कारोबार भएको प्रमाणित भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पक्राउ परेकाहरुविरुद्ध जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद लिइएको छ । अनुसन्धानपछि उनीहरूमाथि बैङ्किङ अपराध, विद्युतीय कारोबार ऐन, र साइबर अपराधसम्बन्धी प्रचलित कानुनअनुसार मुद्दा दायर गरिने प्रहरीको तयारी छ ।
प्रतिक्रिया