विराटनगर : विराटनगरमा आँखाको उपचार गराउन आएका भारतीय नागरिकसँग घुस लिएको आरोपमा दुई प्रहरी सहायक हवल्दार निलम्बनमा परेका छन् भने एक असईलाई पनि निलम्बनको सिफारिस गरिएको छ ।
इलाका प्रहरी कार्यालय रानीमा कार्यरत सहायक हवल्दार विक्रम माझी र अम्बरबहादुर श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार निलम्बन गरेको हो । उनीहरूलाई एक भारतीय बिरामीसँग ६ हजार भारतीय रुपैयाँ घुस लिएको आरोपमा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
घटनासँगै प्रहरी सहायक निरीक्षक(असई) खम्बबहादुर विकमाथि पनि अनुसन्धान सुरु गरिएको छ । उनलाई निलम्बन गर्न मोरङ प्रहरीले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरलाई सिफारिस पठाइसकेको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार डीआईजी ईश्वर कार्की बाहिरी जिल्लाको निरीक्षणमा रहेकाले असई विकको निलम्बन प्रक्रियामा ढिलाइ भएको हो । हवल्दार तहसम्मको निलम्बन एसपीमार्फत हुन सक्ने भए पनि असई र माथिल्लो तहका अधिकृतहरूको निलम्बन डीआईजीकै अधिकार क्षेत्रभित्र पर्छ ।
आरोप अनुसार, विराटनगर–१५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटमा ड्युटीमा खटिएका ती प्रहरीहरूले भारतबाट आँखाको उपचारका लागि आएका बिरामीसँग २५ हजार रुपैयाँभन्दा बढी भारु बोकेको भन्दै रोकेर ’बार्गेनिङ’ गर्दै ६ हजार भारु घुस लिएका थिए । पीडित पक्षले भोलिपल्ट जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएपछि प्रहरी प्रशासनले तत्काल ती प्रहरीलाई तानेर छानबिन सुरु गरेको हो ।
यद्यपि, आरोपित प्रहरीहरूले आफूले कुनै रकम नलिएको र मात्र कानुनी व्यवस्था सम्झाइबुझाइ गरेर बिरामीलाई जाने दिएको दाबी गरेका छन् ।
कोशी प्रदेश प्रहरी प्रवक्ता एसपी दीपक पोखरेलका अनुसार घटनाबारे गम्भीर रूपमा अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया