विराटनगर : कोशी प्रदेशसभाको आज बसेको बैठकमा आर्थिक वर्ष २०८१-८२ का लागि आर्थिक सर्वेक्षण विवरण पेस गरिएको छ। आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सभामा सर्वेक्षण प्रस्तुत गर्दै आन्तरिक राजस्वको अवस्था उत्साहजनक नरहेको बताएका छन्।
मन्त्री मगरका अनुसार गत चैत मसान्तसम्म ११ अर्ब ११ करोड पाँच लाख राजस्व सङ्कलन भएको छ। संघीय सरकारबाट प्राप्त ९ अर्ब एक करोड अनुदानमध्ये हालसम्म ६२ प्रतिशत निकासा भएको पनि उनले जानकारी दिए। प्रदेशको आर्थिक वृद्धिदर ३.३ प्रतिशत रहेको छ भने प्रतिव्यक्ति आम्दानी १,४०१ अमेरिकी डलर पुगेको छ।
सर्वेक्षणले प्रदेशको आर्थिक गतिविधिमा कृषिक्षेत्रको योगदान ३४.४ प्रतिशत र औद्योगिक क्षेत्रको १६.०३ प्रतिशत रहेको देखाएको छ।
प्रदेशसभा सचिवालयका उपसचिव गौतम अमात्यका अनुसार, कोशी प्रदेशसभाको अर्को बैठक असार १ गते अपराह्न ३ बजे बस्नेछ।
सो बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ का लागि वार्षिक बजेट सार्वजनिक गरिनेछ ।
प्रतिक्रिया