बालबालिका बन्धक बनाएर इटहरीमा नेटवर्किङ धन्दा, १२ जनालाई प्रहरीले गर्यो उद्धार

मंगलबार, ०३ असार २०८२

इटहरी : इटहरीमा गैरकानुनी ढङ्गले सञ्चालित कम्पनीमार्फत बालबालिकासहितका युवायुवतीलाई बन्धक बनाई जबरजस्ती सामान बिक्री गराउँदै आएका दुई जना लाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ब्लेस ग्लोबल इन्टरनेशनल प्रा।लि।नामक कम्पनीका टुर म्यानेजर ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाका २९ वर्षीय तिलकनारायण श्रेष्ठ र सोलुखुम्बु नेचासल्यान गाउँपालिकाकी २२ वर्षीया टिका कटेल रहेका छन् ।

उनीहरू इटहरी ९ स्थित बसपार्कमा रहेको बन्दना होटल भाडामा लिएर झन्डै एक साताअघि देखि १२ जना युवायुवतीलाई राखेर प्रलोभन र धाक धम्की दिँदै सामग्रीहरू बिक्री गर्न लगाउँदै आएका थिए ।

प्रहरीले उद्धार गरेका १२ मध्ये केही बालबालिका समेत रहेको जनाएको छ । उनीहरूको विवरण भने प्रहरीले खुलाएको छैन । 

पक्राउ परेकाले आफूहरूसँग रहेका व्यक्तिहरूलाई घर जान दिने अनुमति नदिईकन, धम्क्याउँदै इटहरी, धरान लगायतका पूर्वी सहरहरूमा पठाउने र जबरजस्ती सामान बेच्न बाध्य पार्ने गरेको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । 

प्रहरीले उद्धार गरिएका युवायुवतीहरू सोही कम्पनीका अन्य व्यक्तिहरूसँग सम्पर्कमा रहेको पत्ता लगाएको छ भने उजुरी दर्ता गराएका दुई पीडित बालकलाई परिवारको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ ।

खास गरी विभिन्न कम्पनीहरूका नाममा युवायुवतीलाई आकर्षक रोजगारीको प्रलोभनमा पारी बन्धक बनाएर नेटवर्किङका रूपमा जबरजस्ती सामान बिक्री गर्ने प्रवृत्ति बढ्दो रहेको जानकारहरूले बताएका छन् । 

प्रहरीले गैरकानुनी ढङ्गले सञ्चालन भइरहेका यस्ता कम्पनीहरूमाथि थप निगरानी र कारबाहीको तयारी गरिरहेको जानकारी दिएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार