नागार्जुन मेयर मोहन बस्नेत घुसकाण्डमा दोषी, १३ करोडभन्दा बढी सम्पत्ति शुद्धीकरण पुष्टि

शुक्रबार, ०६ असार २०८२

काठमाडौँ : नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई विशेष अदालतले घुस लिएको मुद्दामा दोषी ठहर गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा दायर भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतको संयुक्त इजलासले शुक्रवार दोषी ठहर गर्दै सजायका लागि असार १६ गते पेशी तोकेको हो।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको संयुक्त इजलासले दिएको फैसलामा नेपाली काङ्ग्रेसबाट दुईपटक नगरप्रमुखमा निर्वाचित बस्नेतले पद्मा कोलोनी प्रालिका सञ्चालक अध्यक्ष राजुप्रसाद कँडेलबाट ९ करोड २२ लाख ४६ हजार ३२ रुपैयाँ घुस लिएको पुष्टि भएको उल्लेख छ।

त्यसका साथै, उनले सो घुसबाट प्राप्त रकम र त्यसबाट किनिएको जग्गा विभिन्न व्यक्तिमा बिक्री वितरण गरी कुल १३ करोड १२ लाख ७३ हजार ३२ रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अदालतको आदेशमा उल्लेख गरिएको छ।

अदालतले घुस दिने कँडेललाई पनि दोषी ठहर गरेको छ भने दोष प्रमाणित भइसकेकाले बस्नेत र कँडेल दुवैको सजाय निर्धारण असार १६ गते हुने बताइएको छ।

यसैबिच, मुद्दामा प्रतिवादी बनाइएकी मोहन बस्नेतकी पत्नी उर्मिला बस्नेत भने अदालतबाट निर्दोष ठहरिएकी छन्।

 

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार