झापा : दीपावली र छठपर्व नजिकिँदै जाँदा झापामा पटकाजन्य सामग्री भारतबाट भित्रिन थालेपछि प्रहरीले निगरानी र चेकजाँचमा कडाई गरेको छ। जेनजी आन्दोलनपछि क्षतिग्रस्त भएका संरचना पुनःनिर्माण र व्यवस्थापनको क्रममा रहेको बेला सीमावर्ती भारतीय बजारबाट पटकाजन्य सामानहरू लुकाइछिपाई नेपाल भित्रिन थालेपछि प्रहरीले चेकिङलाई अझ कडाइ गरेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी खगेन्द्रबहादुर खड्काका अनुसार हालसम्म जिल्लाका विभिन्न स्थानबाट करिब १० लाख रुपैयाँभन्दा बढी मूल्य बराबरका पटकाजन्य सामग्री बरामद गरिएको छ। उनले आज मात्रै गौरादह–१ मा रहेको कृषि बजार क्षेत्रबाट ५० हजार रुपैयाँ बराबरको पटका बरामद गरिएको जानकारी दिए।
त्यस्तै, भद्रपुर नगरपालिका–३ स्थित मेचीपारी सीमा इलाकामा सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हे.क्वा. झापाबाट खटिएको मोबाइल गस्ती टोलीले ७ लाख ६६ हजार ८७६ रुपैयाँ बराबरका १९ प्रकारका सात बोरा आतिसबाजी (पटका) बरामद गरेको थियो। प्रहरीलाई देख्नेबित्तिकै पटका बोकेका अपरिचित व्यक्ति सामान छाडेर फरार भएका थिए। बरामद सामग्री आज दिउँसो स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र सञ्चारकर्मीहरूको रोहबरमा गण परिसरभित्र नष्ट गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोख्रेलले जानकारी दिए।
यसैगरी, आज बिहान करिब साढे ७ बजे गौरीगञ्ज गाउँपालिका–४ हुक्कागाछीमा भारतबाट नेपालतर्फ लुकाईछिपाई ल्याउँदै गरेको करिब ४० हजार रुपैयाँ बराबरका २० बन्डल (१,००० प्याकेट) पटका पनि प्रहरीले बरामद गरेको छ। प्रहरी टोलीलाई देख्नेबित्तिकै व्यक्तिहरू सामान छोडेर भागेका थिए। बरामद पटकाहरू हाल इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
यसअघि, इलाका प्रहरी कार्यालय राजगढले करिब एक लाख मूल्य बराबरका पटकाजन्य सामान बरामद गरी नष्ट गरेको थियो भने कुमरखोद इलाका प्रहरी कार्यालयले पनि सोही मूल्यका पटका बरामद गरी नष्ट गरेको जनाएको छ।
प्रतिक्रिया