इलाम : पहाडी जिल्ला इलाममा अब दैनिक रूपमा अपरेशन सेवा सुरु गरिएको छ। जिल्ला अस्पताल इलाममा विशेषज्ञ सर्जन डा. सरो प्रजापतिको टोलीले नियमित रूपमा शल्यक्रियात्मक सेवा दिन सुरु गरेको अस्पतालका सूचना अधिकारी सुजन अधिकारीले जानकारी दिए।
अधिकारीका अनुसार अब हर्निया, हाइड्रोसिल, एपेन्डिक्स, विभिन्न गाँठा–गुठी लगायतका सामान्य अपरेशनहरू जिल्ला अस्पतालमै हुनेछन्। यसअघि यस्ता अपरेशनका लागि इलामका बिरामीहरूलाई झापा लगायतका अन्य जिल्लाका अस्पताल जानुपर्ने बाध्यता रहेको थियो।
अस्पतालमा हाल बालरोग विशेषज्ञ डा. बृजेश कुमार यादव पनि निरन्तर सेवा दिइरहेको जनाइएको छ। साथै, हाडजोर्नीसम्बन्धी अपरेशन सेवा थप सहज बनाउनका लागि आवश्यक मेसिन खरिदका लागि बजेट माग गरिएको सूचना अधिकारी अधिकारीले बताए।
नयाँ सेवा सुरु भएपछि इलामका सर्वसाधारणलाई उपचारका लागि लामो दूरीको यात्राबाट मुक्त भई स्थानीयस्तरमै गुणस्तरीय सेवा पाउने सुविधा भएको स्थानीयले बताएका छन्।
प्रतिक्रिया