प्रहरी भन्दै सर्वसाधारणसँग पैसा असुल्ने युवक विराटनगरबाट पक्राउ

शुक्रबार, ०६ असार २०८२

विराटनगर : आफूलाई प्रहरी भन्दै सर्वसाधारणलाई डर–त्रास देखाएर पैसा असुल्ने एक युवकलाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कोपिला चुँडालका अनुसार पक्राउ पर्ने युवक विराटनगर महानगरपालिका–१२ निवासी २५ वर्षीय धनकुमार थारु हुन् । उनलाई शुक्रबार विराटनगर–१६ स्थित रानी–जोगवनी सडकखण्डबाट नियन्त्रणमा लिइएको हो ।

प्रारम्भिक अनुसन्धानबाट थारुले भारतको जोगवनीबाट घरेलु सामग्री लिएर नेपालतर्फ आउने सर्वसाधारणलाई डर, धम्की र प्रलोभन देखाउँदै पैसा असुल्ने गरेको पत्ता लागेको छ। "शारीरिक रूपमा अपांगता भएका व्यक्तिसमेत उनको निशानामा परेका छन्," डीएसपी चुँडालले भनिन् ।

थारुले आफू 'प्रहरी हो' भन्दै सर्वसाधारणलाई भय देखाउने र सोही आधारमा रकम असुल्ने गरेको खुलेपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

डीएसपी चुँडालका अनुसार थारुविरुद्ध अभद्र व्यवहार मुद्दा अन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङबाट म्याद थप गरेर अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार