कोशी प्रदेशस्तरीय ओपन बास्केटबलः सुनसरी र इलामबिच फाइनल प्रतिस्पर्धा

शनिबार, ०७ असार २०८२

धरान :  धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको समन्वयमा सञ्चालित कोशी प्रदेशस्तरीय ओपन बास्केटबल प्रतियोगिताको फाइनलमा सुनसरी र इलामबिच प्रतिस्पर्धा हुने भएको छ ।

शनिबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सुनसरीले धनकुटालाई ६९–२५ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । सुनसरीले खेलको प्रत्येक क्वार्टरमा क्रमशः १६–४, १३–५, १६–५ र २४–१० अङ्क जोडेको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुनसरीका सुसन श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए । 

त्यसैगरी, दोस्रो सेमिफाइनल खेलमा इलामले भोजपुरलाई ६०–४९ अङ्कले पराजित गर्दै फाइनल प्रवेश पक्का ग¥यो । खेलको क्वार्टर अनुसार इलाम र भोजपुरले क्रमशः १२–८, १७–९, १५–१२ र १६–२० अङ्क जोडेका थिए । खेलमा प्रभावशाली प्रदर्शन गरेका इलामका मनिष तामाङ खेलको उत्कृष्ट खेलाडी घोषित भए । 

प्रतियोगितामा सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुङ्गा र धनकुटा गरी आठ जिल्लाका टिमहरूको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता टिमले नगद २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीले ‘धरान मेघा एमभीपी–मोस्ट भ्यालुएबल प्लेयर’ को उपाधिसहित नगद १० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
 
विहिबारदेखी सुरु भएको प्रतियोगिताको फाइनल खेल आइतबार, डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न हुने आयोजकले जनाएको छ ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार