झापा : भारतसँगको खुला सीमाको फाइदा उठाउँदै झापाबाट काठमाडौंसम्म ब्राउन सुगर (खैरो हेरोइन) तस्करी गर्ने गिरोह फेरि सक्रिय भएको पुष्टि भएको छ। पछिल्लो केही दिनयता प्रहरीले सवारीसाधनको प्रयोग गरी भारतबाट लागुऔषध ल्याउने क्रममा युवतीसहित ६ जनालाई पक्राउ गरेसँगै गिरोहको चलखेल पुनः उजागर भएको हो।
विशेष सूचनाका आधारमा झापा प्रहरीले भद्रपुरबाट दुईवटा कारमार्फत ल्याइँदै गरेको ब्राउन सुगर बरामद गरेको छ। भारतबाट फर्किँदै गरेको एक क्रेटा कारमा लुकाइएको अवस्थामा २ सय ग्रामभन्दा बढी ब्राउन सुगर फेला परेको थियो। यस क्रममा नुवाकोटका चार युवक पक्राउ परेका छन्। उनीहरू तीर्थयात्री वा पर्यटकझैँ देखिए पनि सवारीसाधन भित्र ब्राउन सुगर कुशलतापूर्वक लुकाएर काठमाडौं पठाउने तयारीमा थिए।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भारतबाट फर्किंदै गरेको बा प्र ०१–००३– च ०८७७ नम्बरको हुन्डाई क्रेटा कार रोकेर चेकजाँच गर्दा गाडीभित्र लुकाएर राखिएको २ सय ग्राम ३ सय ९० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो। पक्राउ पर्नेमा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–१३ का ३१ वर्षीय साजन तामाङ, ३० वर्षीय सजिन लामा, ३३ वर्षीय दीपेश लामा र बेलकोटगढी–११ का २३ वर्षीय राम तामाङ रहेका छन्।
यसअघि असार ७ गते पनि भद्रपुर भन्सार गेटअगाडिबाट नेटा इभी कारमार्फत काठमाडौं जाँदै गरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरूबाट झण्डै ४८ ग्राम ब्राउन सुगर बरामद गरिएको थियो।
भारतबाट ब्राउन सुगर मगाएर बा प्र ०१–००३ च ७७९३ नम्बरको नेटा इभी कार चढी काठमाडौं जान लागिरहेका काठमाडौं घर भएका २४ वर्षीय निवेश कुँवर र लमजुङ घर भएकी २२ वर्षीया नोजिना रानालाई विशेष सूचनाको आधारमा पक्राउ गरिएको थियो।
सवारी साधनलाई आड बनाएर कारोबार
सार्वजनिक यातायातभन्दा निजी गाडी सुरक्षित ठानेर तस्करहरूले महँगा कार प्रयोग गर्न थालेका छन्। हुन्डाई, नेटा जस्ता ब्रान्डेड गाडीमार्फत लागुऔषध ओसारपसार भइरहेको प्रहरीले बताएको छ। प्रहरीले बरामद गरेका मोबाइल, कार र ब्राउन सुगरसहित तस्करलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ।
झापा प्रहरी प्रमुख एसपी राजन लिम्बूका अनुसार सीमावर्ती क्षेत्रका होटल, गेस्ट हाउस र बजार क्षेत्रमा लागुऔषध भण्डारण गरी कारभित्र लुकाएर काठमाडौं, पोखरा, हेटौंडा जस्ता सहरी केन्द्रमा पुर्याउने क्रम बढेको छ। उनले लागुऔषध कारोबार विरुद्ध प्रहरीले विशेष अभियान चलाइरहेको र सीमामा प्रविधियुक्त निगरानी, स्थानीय तहको सहकार्य तथा जनसहभागिता अपरिहार्य रहेको बताए।
तथ्यांकले देखाउँछ, कारोबार अझै बढ्दो
प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९-८० मा १५५८ ग्राम, २०८०-८१ मा २१७४ ग्राम र चालु आर्थिक वर्ष २०८१-८२ को हालसम्ममा २००५ ग्राम ब्राउन सुगर बरामद भइसकेको छ। यो तथ्यांकले सवारीसाधनमार्फत तस्करी भइरहेको ब्राउन सुगर कारोबार थप गहिरिँदै गएको संकेत गर्दछ।
प्रतिक्रिया