वीरगन्ज - नेपाली काँग्रेसका नेता नैनसिंह महरले देशको अर्थतन्त्रमा सर्वाधिक योगदान दिने र सबभन्दा बढी जनसङ्ख्या भएको मधेश प्रदेशका लागि सङ्घीय बजेट विनियोजनमा कमी कमजोरी भएको बताएका छन । उनले ‘वीरगन्ज नाकाले देशको ढुकुटी भर्छ, सबैभन्दा बढी श्रमिक यही प्रदेशले पठाउँछ र देशको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ,’ उनले तथ्याङ्क प्रस्तुत गर्दै भने, ‘तर, जब बजेट विनियोजनको बेला आउँछ, मधेसले आफ्नो जनसङ्ख्या र योगदानको अनुपातमा सधैँ विभेद र उपेक्षा मात्रै भोग्यो ।’
नेता महरले सत्ताको खेलले नीतिगत शून्यता जन्माएको र प्रमुख दलहरूको आन्तरिक किचलोले व्यवस्थाप्रति नै नागरिकको विश्वास कमजोर बन्दै गएको ,केही शक्तिहरू धमिलो पानीमा माछा मार्ने षडयन्त्र गर्दै व्यवस्था परिवर्तनको दिवा सपना कोरिरहेको बताएका छन् ।
नेता महरले सरकार र सत्ता गठबन्धनको औचित्यमाथि प्रश्न उठाउँदै विधायिकी प्रक्रिया ठप्प पारेर देशलाई सङ्कटतर्फ धकेलेको बताए । ‘सरकार कसरी चलिरहेको छ भन्ने कुरा संसदीय समितिले महिनौँ लगाएर टुङ्ग्याएका विधेयकसमेत सदनमा अलपत्र पर्नुले प्रस्ट पार्छ,’ उनले भने, ‘विधायिकी प्रक्रिया ठप्प पारेर सत्ता स्वार्थको खेलमा रमाएको यो गठबन्धनले देशलाई निकास दिन सक्नु पर्दछ ।’
एक फरक प्रसङ्गमा महरले अगाडी भने - नीति महाधिवेशन गर्न बसेको महासमितिको प्रतिवेदनसमेत सार्वजनिक गरिएको छैन । ।’ पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाहरू निष्क्रिय हुँदा पार्टीमा नयाँ ऊर्जाको सञ्चार हुन नसकेको र विधानको कार्यान्वयनमा नेतृत्व चुकेको बताए । ‘शासन राम्रो हुन पहिला दल राम्रो हुनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ अब १६ गते बस्ने कांग्रेस केन्द्रीय समितिको बैठक सबै विषयको समीक्षा हुन्छ उनले थपे ।
उनले सरकारको उदासीनताले मधेशका आधारभूत समस्या झनै विकराल बनेको बताए । ‘चुरेको अनियन्त्रित दोहनले जलवायु परिवर्तनको प्रत्यक्ष कोप भाजन मधेसले भोगिरहेको छ । पहिले २०० फिटमा आउने पानी आज ५०० फिट खन्दा पनि मुस्किलले आउँछ,’ उनले पर्यावरणीय सङ्कटतर्फ सङ्केत गर्दै भने, ‘तर, सरकारको प्राथमिकतामा यी विषय कहिल्यै परेनन् ।’
नेता महरले मधेशमा महिला हिंसा, दाइजो प्रथा, दलित उत्पीडन, नागरिकता समस्या र देशकै सबैभन्दा बढी विद्यालय छाड्ने दर (ड्रप आउट रेट) हुनुले प्रदेशको भविष्यमाथि खेलबाड भइरहेको बताए । ‘सबै चुनौतीका बाबजुद, स्थानीय तहमा देशभरबाट निर्वाचित महिलामध्ये सबैभन्दा बढी मधेसबाटै हुनु यहाँको अन्तर निहित ऊर्जाको प्रमाण हो,’ उनले भने, ‘कांग्रेस अब यही ऊर्जालाई साथ लिएर मधेशको नेतृत्व गर्न तयार छ ।’
कार्यक्रम नेपाल प्रेस युनियन, पर्साका अध्यक्ष विजय चौहानको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया