विराटनगर : विराटनगरमा एक व्यक्तिले आफ्नै जिउँदो भाइलाई 'मरेको' देखाएर जग्गा बेचिदिएको खुलासा भएको छ ।
विराटनगर–२ का भरतबहादुर बस्नेतले भाइ केदारबहादुर बस्नेतको मृत्यु भएको भन्दै झूटा सरजमिन मुचुल्का तयार गराई सुनसरीको हाँसपोसा स्थित ३ कठ्ठा ८ धुर जग्गा बिक्री गरेका हुन् ।
पूर्व प्रहरी निरीक्षक समेत रहेका ७० वर्षीय केदारबहादुर बस्नेतले जग्गा बिक्री भएको थाहा पाएपछि जब खोजी सुरु गरे, आफू त २०७५ सालमै कानुनी रूपमा ‘मरेको’ प्रमाणित भएको कागज फेला पारे । 'म त जिउँदो मान्छे हुँ, दाजुले मरेको भनेर जग्गा बेच्न खोज्नु भयो भनेर थाहा पाएपछि त हैरान नै भएँ,' उनले दुखेसो पोखे ।
यो योजनामा भरतबहादुरले वडाध्यक्ष कुमार पोखरेलसँग मिलेमतो गरेको देखिन्छ । पोखरेलकै अध्यक्षतामा वडाले केदारको मृत्यु भएको नक्कली सरजमिन बनाएर मालपोत कार्यालयमा सिफारिस पठाएको थियो । त्यसै आधारमा जग्गा नामसारी गरियो र केही वर्षपछि जग्गा ७२ लाख रुपैयाँमा बिक्रीसमेत गरियो ।
घटनापछि केदारबहादुरले जिल्ला अदालत मोरङमा १० जनाविरुद्ध मुद्दा दायर गरेका छन्, जसमा वडाध्यक्ष पोखरेल, तत्कालीन वडासचिव सूर्यबहादुर थापा लगायत प्रतिवादी छन् ।
केदारबहादुरको भनाइमा, उनका बुबाका तीन श्रीमतीहरूबाट जन्मिएका सन्तानहरू छन्, र यो जग्गा जेठी आमाको नाममा थियो जसको रेखदेख भगिनी भगवतीले गर्दै आइरहेकी थिइन् । तर त्यस जग्गालाई एकलौटी बनाउने उद्देश्यले दाजुले आफ्नै भाइको मृत्यु देखाएर गैरकानुनी ढंगले कब्जा गरेका हुन् ।
वडाध्यक्ष पोखरेलले भने आफू कार्यक्रममा व्यस्त रहेको भन्दै प्रतिक्रिया दिन मानेनन् ।
प्रतिक्रिया