विराटनगर । विराटनगरमा आफूलाई प्रहरीको रूपमा चिनाउँदै अपहरण र लुटपाट गर्ने दुई जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार असार ११ गते बिहान करिब ११:१५ बजेको समयमा मोरङको विराटनगर महानगरपालिका–१३ स्थित महतो टोलबाट ३ जनाको समूहले एक व्यक्तिलाई नियन्त्रणमा लिएर अपहरण गरेका थिए । ती व्यक्तिहरूले आफूहरू प्रहरी भएको नाटक गर्दै विक्रमकुमार साहलाई अपहरण गरी विराटनगर–१५ स्थित आँखा अस्पताल नजिकको रेलवे लाइनसम्म लगेर लुटपाट गरेका थिए ।
अपहरित विक्रम साहका भिनाजु धर्मानन्द साहका अनुसार विक्रमले सापटी लिएको ३ लाख ६४ हजार रुपैयाँ बोकेर घर फर्कने क्रममा उनी अपहरणमा परेका थिए । ‘हामी प्रहरी हौं’ भन्दै नियन्त्रणमा लिएको समूहले ‘पछाडि फर्केर हेरेमा मारिदिन्छौं’ भन्दै धम्क्याएर रकम लुटेको पीडित पक्षको भनाइ छ । लुटपाटपछि उनीहरू विक्रमलाई त्यहीँ छाडेर फरार भएका थिए ।
प्रहरी अनुसन्धानका क्रममा अपहरण तथा लुटपाटमा संलग्न विराटनगर–८ का २४ वर्षीय समीर हुसेन र विराटनगर–६ का २५ वर्षीय तासिब अन्सारीलाई आइतबार पक्राउ गरिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । घटनामा संलग्न तेस्रो व्यक्ति भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका समीर र तासिबमाथि अपहरण, शरीर बन्धक तथा डाँका सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया