विराटनगर : अदालतको फैसला पालना नगरी लुकिरहेका प्रतिवादीहरूलाई मोरङ प्रहरीले तीव्र रुपमा पक्राउ गर्न थालेपछि जिल्लामा कानून कार्यान्वयनको नयाँ चरण सुरु भएको देखिएको छ ।
असार १ गतेदेखि १५ दिनको अवधिमा मात्रै १ सय ९१ जना फरार प्रतिवादी पक्राउ परेका छन् भने आइतबार मात्रै ६० जना प्रतिवादी अदालतमा बुझाइएका छन् ।
डीएसपी कोपिला चुँडालका अनुसार पछिल्लो अभियानबाट ३४ वर्ष २ महिना १९ दिन बराबरको कैद र ६ लाख २६ हजार रुपैयाँभन्दा बढी जरिबाना असुल गरिएको छ । चालु आर्थिक वर्षमै ९७९ जना फरार प्रतिवादी पक्राउ परिसकेका छन् ।
पक्राउ परेकाबाट कुल २ सय ६२ वर्षभन्दा बढीको कैद र १ करोड ४८ लाख रुपैयाँभन्दा बढी जरिबाना असुल गरिसकिएको जानकारी दिइएको छ ।
एसपी नारायणप्रसाद चिमरियाका अनुसार, केही प्रतिवादी घरगाउँमै लुकेर बसेका थिए, तर सूक्ष्म अनुसन्धान र स्थानीय सहकार्यबाट उनीहरूलाई पनि पक्राउ गर्न सफल भएको छ ।
लामो समयदेखि अपराधको दोषी ठहरिएर पनि खुल्ला घुमिरहेका प्रतिवादीहरू पक्राउ परेपछि न्यायको अनुभूति गर्न थालेको पहरीको भनाई छ ।
प्रतिक्रिया