मासु काट्ने दाबले पत्नीको हत्या, आरोपी पति पक्राउ

बुधबार, १८ असार २०८२

रौतहट : एक सामान्य झगडाले यस्तो बर्बरतामा परिणत होला भन्ने कसले सोच्थ्योर, रौतहटको मटिअर्वामा बुधबार घटेको घटनाले फेरि एकपटक घरेलु हिंसाको भयावह रुप समाज सामु उजागर गरेको छ।

बुधबार दिउँसो कलैया उपमहानगरपालिका–१० मटिअर्वामा ३५ वर्षीय बच्चा मियाँले आफ्नै पत्नी सहिना खातुनको मासु काट्ने दाब (धारिलो हतियार) प्रयोग गरी हत्या गरेका छन्।

दिउँसो ३:१५ बजे सामान्य घरायसी विवादबाट सुरु भएको भनिएको झगडा एकाएक हिंस्रक रूप लिँदै गएको थियो। बारा प्रहरीका अनुसार, विवाद चर्किएपछि मियाँले मासु काट्ने दाब निकालेर सहिनाको टाउको र घाँटीमा बेरहमीपूर्वक प्रहार गरे, जसका कारण सहिनाको घटनास्थलमै मृत्यु भयो।

घटनाको जानकारी पाउँसाथ जिल्ला प्रहरी कार्यालय बारा र मटिअर्वा प्रहरी चौकीको टोली तत्काल घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानपछि आरोपी बच्चा मियाँलाई पक्राउ गरिएको छ। साथै हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार दाब पनि बरामद गरिएको प्रहरीले जनाएको छ।

स्थानीयहरूका अनुसार, मियाँ दम्पतीबीच पहिले पनि विवाद हुने गरेको थियो। तर यति चरम स्थितिमा पुगेर यस्तो क्रूर हत्या हुने कसैले अनुमान गरेका थिएनन्। प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार, घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार