भोजपुरको सामूहिक हत्या : चारवटै शवको धरानमा पोस्टमार्टम, अन्त्येष्टि इटहरीमा हुने

सोमबार, २३ असार २०८२

धरान : भोजपुरको रामप्रसादराई गाउँपालिका–२ स्थित धोद्नेखानीमा शनिबार राति सामूहिक हत्या गरिएका एकै परिवारका चार जनाको शवको पोस्टमार्टम धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ।

शवलाई आइतबार भोजपुर अस्पताल लगिएको भए पनि त्यहाँ फरेन्सिक परीक्षणको सुविधा नहुँदा गम्भीर प्रकृतिको घटनालाई मध्यनजर गर्दै सोमबार धरान ल्याइएको थियो । पोस्टमार्टम सकिएपछि शवहरू पीडित परिवारका आफन्तलाई जिम्मा लगाइएको भोजपुर प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन्। 

उनका अनुसार मृतकका ज्वाइँ २९ वर्षीय मानबहादुर पुरीलगायतका आफन्तलाई शव जिम्मा दिइएको हो। अन्त्येष्टिका लागि सबै शव इटहरीस्थित बूढीगंगा घाटमा लगिएको छ।

शनिबार राति ३० वर्षीय राजेन्द्र राईले आफ्नी पत्नी १६ वर्षीया मनिषा गिरी, ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासू ४५ वर्षीया मञ्जु गिरी र सालो ९ वर्षीय सपन गिरीको छुरा प्रहार गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटना भएको केहीबेरपछि राई आफैँले प्रहरीलाई खबर गरेका थिए। 

प्रहरी पुग्दा उनी पनि घाइते अवस्थामा भेटिएका थिए। उनको शरीरमा २ देखि ३ ठाउँमा छुरा लागेकाले उपचारका लागि धरानस्थित बीपी प्रतिष्ठानमै भर्ना गरिएको छ।

इन्स्पेक्टर श्रेष्ठका अनुसार गिरी परिवारका ६ जना सन्तानमध्ये ४ जना काठमाडौंमा बस्दै आएका थिए भने १ छोरा र १ छोरी गाउँको घरमा बस्दै आएका थिए। घरमा रहेका सबैको हत्या भएको हो।

प्रहरी अनुसन्धान अनुसार, छोरीलाई माइतीमै राखिएको विषयलाई लिएर विवाद चर्किएको थियो। राईले बारम्बार छोरीलाई लैजान खोज्दा परिवारले फिर्ता नगरेपछि झगडा उत्पन्न भएको र त्यसकै आक्रोशमा उनले छुरा प्रहार गरी सामूहिक हत्या गरेको प्रारम्भिक बयानमा उल्लेख छ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको छ। घटनास्थलमा संलग्न र साक्षीहरूसँग बयान संकलनको काम भइरहेको छ भने अभियुक्त राईको शारीरिक अवस्थालाई पनि नियाल्दै अनुसन्धान अगाडि बढाइएको छ।

हत्याकाण्डले भोजपुरसहित आसपासको क्षेत्रलाई स्तब्ध बनाएको छ। मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै स्थानीय बासिन्दाहरूले अपराधीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन्।

गिरी परिवारका नातेदारले घटनालाई क्रुर र अमानवीय भन्दै दोषीलाई कारबाही हुनुपर्ने माग राखेका छन् । प्रहरीले घटनाको अनुसन्धान टुंगिएपछि थप विवरण सार्वजनिक गर्ने बताएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार