एमाले विराटनगरको दोस्रो बैठकले गर्यो संगठन सुदृढीकरणको खाका सार्वजनिक

शुक्रबार, ०२ साउन २०८२

विराटनगर : नेकपा (एमाले) विराटनगर महानगर कमिटीको दोस्रो पूर्ण बैठकले सांगठनिक पुनर्संरचना, नीति–अनुशासन सुदृढीकरण र आगामी लक्ष्य निर्धारणमार्फत पार्टीको राजनीतिक सक्रियता अभिवृद्धि गर्ने उद्देश्यसहित नयाँ कार्ययोजना सार्वजनिक गरेको छ।

पार्टी कार्यालय पान्चालीमा सम्पन्न बैठकमा अध्यक्ष बलराम गिरीको अध्यक्षता, मोरङ इञ्चार्ज एवं केन्द्रीय सदस्य जीवन घिमिरेको प्रमुख आतिथ्य तथा इन्चार्ज पर्शुराम बस्नेतसहित जिल्ला नेताहरूको सहभागिता रहेको थियो। बैठकले ११ बुँदे निर्णयमार्फत सांगठनिक, आर्थिक र कार्यगत संरचना स्पष्ट गरेको हो।

बैठकमा एमालेका विविध गतिविधिको समीक्षा गर्दै पार्टी स्थापना दिवस, मदन–आश्रित स्मृति दिवस, गणतन्त्र दिवस, धान दिवस, वक्तृत्वकला प्रतियोगिता, वृक्षारोपण र रक्तदानजस्ता कार्यलाई जनसहभागितायुक्त सफल कार्यक्रमको रूपमा मूल्याङ्कन गरिएको छ।

  • जनप्रतिनिधिसँग अन्तरसम्वाद : पार्टी–प्रतिनिधिबीचको दूरी घटाउने उद्देश्यले हरेक ३ महिनामा अन्तरसम्वाद कार्यक्रम सञ्चालन।

  • सदस्यता विस्तार : वडागत रूपमा कुल मतदाताको कम्तीमा ३ प्रतिशत बराबर सदस्य बनाउने लक्ष्य।

  • लेवी व्यवस्थापन : अध्यक्षबाट १ हजार, पदाधिकारीबाट ५ सय, सचिवालय सदस्यबाट ३ सय र अन्य सदस्यबाट १ सय रुपैयाँ मासिक लेवी संकलन गरी महानगरको खातामा जम्मा गर्ने निर्णय।

  • वर्षे कार्ययोजना र बजेट : २०८२ सालका लागि कार्यतालिका तथा बजेट पारित गर्दै सबै मातहत कमिटीलाई भदौ मसान्तभित्र आफ्नो योजना बुझाउन निर्देशन।

  • वडा अधिवेशन : साउन २० भित्र वडा अधिवेशन सम्पन्न गर्न पूर्ण तयारीसहित सचिवालयलाई सम्पूर्ण अधिकार।

बैठकले पार्टी स्कुल विभागको नेतृत्व अध्यक्ष गिरीलाई, संगठन विभाग सचिव विज्ञान चापागाईंलाई, कोष तथा वित्त उपाध्यक्ष सुरज न्यौपानेलाई, प्रचार विभाग उपसचिव हमिद आजादलाई, लेखा तथा निर्वाचन समिति संयोजक बोधराज घिमिरे र विष्णु तामाङलाई दिने निर्णय गरेको छ। साथै, चारजना नयाँ सदस्य समेत महानगर कमिटीमा मनोनयन गरिएका छन्।

विराटनगर महानगरका जनप्रतिनिधिको कामको समीक्षा तथा भावी योजना तय गर्न ‘समृद्ध विराटनगर कार्ययोजना २०८२’ निर्माणका लागि कार्यदल गठन गरिएको छ। संयोजकमा अध्यक्ष गिरी, सदस्य सचिवमा विज्ञान चापागाईं, सदस्यमा सभादल प्रमुख र उपप्रमुख रहने कार्यदलले साउन मसान्तभित्र समीक्षा कार्य पूरा गरी २०८३ वैशाखमा पूर्ण कार्ययोजना प्रस्तुत गर्नेछ।

बैठकले दिवंगत नेता बासु कोइरालासहित मृतक शुभेच्छुकहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ। सचिव विज्ञान चापागाईंका अनुसार, "संगठनात्मक आत्मपरीक्षण, नीति स्पष्टता र कार्यगत स्थायित्वमार्फत यो बैठकले एमाले विराटनगरको सांगठनिक पुनर्जागरणको आधार तय गरेको छ।"

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार