काठमाडौं : माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र बामदेव गौतम नेतृत्वको नेकपा (एकता राष्ट्रिय अभियान) बीच एकता भएको छ। शुक्रबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमार्फत दुई पार्टीबीच एकता घोषणा गरिएको हो ।
समारोहमा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतमले औपचारिक रूपमा नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको घोषणा गरे। पार्टी एकीकरणको घोषणापछि दुई शीर्ष नेता—माधव नेपाल र बामदेव गौतम अँगालो मार्दै भावुक मुद्रामा देखिए ।
पार्टी एकतामा सहभागी भएका गौतमले मन्तव्य दिँदै पार्टी एकताबाट आफू अत्यन्त खुसी रहेको पनि बताए। सो अवसरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका कम्युनिष्ट शक्तिहरुलाई एकताबद्ध भएर अगाडि बढाउन निरन्तर प्रयास गर्नुपर्ने बताएका छन् ।
शुक्रबार नेता वामदेव गौतम नेकपा एसमा प्रवेश गराउँदै उनले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन आफ्नो भूमिका महत्वपूर्ण रहको भन्दै यसलाई निरन्तर दिने बताएका हुन् ।
उनले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लागि हाम्रो भूमिका नै महत्वपूर्ण छ । त्यसो हुनाले नेपालका सबै क्रान्तिकारीहरुलाई वा कम्युनिष्ट शक्तिहरुलाई एकतावद्ध भएर अगाडि बढ्नका लागि आफ्नो प्रयासलाई निरन्तर अगाडि बढाउनुपर्छ ।’
उनले पार्टी बलियो भए मात्र सबैले मान्ने धारणा राख्दै आफ्नो शक्ति बलियो बनाउने कुरामा ध्यान केन्द्रित हुनुपर्ने बताए ।
‘एकता भयो कि भएन भनेर सँधै गीत गाएर बस्ने पनि होइन, कुरेर बस्ने पनि होइन । आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ । आफ्नो पार्टी बलियो भयो भने त्यसको कुरा सबैले सुन्छन । कमजोरको कुरा कसैले सुन्दैन । त्यसैले आफ्नो शक्ति बलियो बनाउने कुरामा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ,’ उनले भने ।
कार्यक्रममा उपस्थिति नेता तथा कार्यकर्ताहरूले गौतमको प्रवेश घोषणापछि निकैबेरसम्म हुटिङ गरेका थिए। कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेतृत्व, प्रदेश इन्चार्जहरू, जनसंगठनका प्रतिनिधि, विद्यार्थी नेता, तथा दुवै पक्षका कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो।
प्रतिक्रिया