धरानको खानेपानी समस्या समाधानमा मेयर हर्क साम्पाङकै असहयोग

शुक्रबार, ०२ साउन २०८२

धरान : संघीय खानेपानी मन्त्री प्रदीप यादव धरानको दीर्घकालीन खानेपानी समस्याको स्थायी समाधान खोज्न धरान आइपुगे पनि नगर प्रमुख हर्क साम्पाङले छलफलका लागि समय नै नदिएको बताएका छन् । 

मन्त्री यादवले आफू राजनीति गर्न नभई समाधानका लागि आएको स्पष्ट पार्दै नगर प्रमुखकै असहयोगले प्रक्रिया अवरुद्ध भएको बताए । प्रधानमन्त्री स्वयंले धरानको समस्या समाधान गर्न पटक–पटक निर्देशन दिएको बताउँदै मन्त्री यादवले भने,‘तर आज नगर प्रमुखले छलफलका लागि समय दिनुभएन ।’

संघीय सरकारले चालु आर्थिक वर्षमा धरानको खानेपानी समस्या समाधानका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरिसकेको छ । मन्त्री यादवका अनुसार त्यो बजेटसमेत मेयर साम्पाङले लिन इन्कार गरेका छन् । 

‘मैले फेरि पनि आग्रह गर्छु समस्या समाधानका लागि विनियोजित बजेट स्वीकार गर्नुस् र सहकार्य गर्नुस्, मन्त्रीको आग्रहलाई पनि नगर प्रमुखले बेवास्ता गरिरहेको देखिएको छ ।’ उनले भने । जनप्रतिनिधि भएर जनताको पक्षमा बोल्नुपर्ने मेयर नै जब संघीय सरकारको प्रयासमा अवरोध बनिन्छन् भने धरानको समस्या कहिले समाधान होला र?’

मन्त्री यादवले राजनीतिक पूर्वाग्रह हटाएर खानेपानी जस्तो आधारभूत विषयमा सबै तहका सरकार र सरोकारवालाबिच हातेमालो जरुरी रहेको बताए । सस्तो लोकप्रियताको लागि होइन, जनताको हितका लागि मिलेर अघि बढ्न जरुरी रहेको मन्त्री यादवले बताए ।
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार