विराटनगर : मोरङबाट एक वर्षको अवधिमा नेपाल प्रहरीले ५ करोड ५६ लाख ७० हजार २ सय ९७ रुपैयाँ बराबरको भन्सार छली गरिएका सामग्री नियन्त्रणमा लिएको छ ।
आर्थिक वर्ष २०८१–८२ मा बरामद भएको यो परिमाण अघिल्लो वर्षको तुलनामा पाँचगुना बढी हो । आर्थिक वर्ष २०८०–८१ मा भने प्रहरीले १ करोड ४४ लाख २८ हजार ४ सय ४४ रुपैयाँ बराबरको मात्रै अवैध सामान नियन्त्रणमा लिएको थियो । नेपाल–भारत खुला सिमानाको फाइदा उठाउँदै वर्षौंदेखि तस्करी हुँदै आएको भए पनि पछिल्लो समय प्रहरीको सक्रियताका कारण नियन्त्रणमा उल्लेख्य सुधार देखिएको छ ।
प्रहरीले नियन्त्रणमा लिएका सामग्री आवश्यक अनुसन्धानपछि भन्सार वा राजस्व अनुसन्धान कार्यालयमा बुझाउँदै आएको छ । २०८१–८२ मा सबैभन्दा धेरै असोज महिनामा सामान नियन्त्रणमा लियो । जुन चाडपर्वको समय हो । असोजमा १ करोड ६७ लाख ५३ हजार ५ सय ७६ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको थियो ।
त्यस्तै साउनमा १६ लाख ३० हजार ४ सय ४५, भदौमा ४२ लाख ५१ हजार ४ सय ६०, कात्तिकमा ३७ लाख २७ हजार ६ सय ९२, मंसिरमा ३६ लाख ५६ हजार ८ सय ५९, पुसमा ३१ लाख ३७ हजार ७ सय ३४, माघमा ३१ लाख ८५ हजार ४ सय १३, फागुनमा ६५ लाख ३९ हजार ६ सय ४६, चैतमा २२ लाख २१ हजार ७ सय, वैशाखमा ३४ लाख १ हजार ९ सय ८०, जेठमा ३१ लाख २५ हजार ९ सय ८२ र असारमा ४० लाख ३७ हजार ८ सय १० रुपैयाँ बराबरको अवैध सामान नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार चाडपर्वका बेला विशेषगरी असोज महिनामा भारततिरबाट अत्यधिक मात्रामा लत्ताकपडा, किराना सामग्री, गुट्खाजन्य वस्तु, गाडीका पार्टपुर्जा, औषधि र खाद्यान्न नेपालतिर भित्र्याउने प्रयास हुन्छ । त्यस्तै नेपालतिरबाट भारततर्फ हरियो मटर, सुपारी, लसुन, स्याउ र मदिरालगायतका सामग्री तस्करी हुने गरेको छ । यस्तो गतिविधि रोक्न प्रहरीले विगत केही समयदेखि सीमा क्षेत्रमा निगरानी बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले तस्करी नियन्त्रणका लागि इन्स्पेक्टर सरोज खनालको नेतृत्वमा विशेष टोली परिचालन गरेको छ । त्यस्तै, अन्य प्रहरी युनिटहरूले पनि सीमावर्ती क्षेत्रहरूमा सक्रियता बढाएका छन् । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार सीमा क्षेत्रमा तैनाथ सशस्त्र प्रहरी, सादा पोसाकका प्रहरी, स्थानीय प्रहरी इकाई र अन्य सुरक्षा निकायबीच समन्वय गरी निगरानी तीव्र बनाइएको हो । सूचनाका आधारमा गरिएको विशेष निगरानी र नियमित चेकजाँचले उल्लेख्य सफलता मिलेको उनको भनाइ छ ।
भारतसँग खुला सिमाना जोडिएको मोरङ जिल्लामा रानी, बखरी, कर्सिया, रंगेली, भुटाहा, सिक्टीलगायतका एक दर्जन नाकाहरू तस्करीका लागि प्रायः प्रयोग हुने गर्छन् । यी नाकामा अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ । विशेषगरी रातिको समयमा र धार्मिक मेलाका अवसरमा तस्करी हुने सम्भावना बढी हुने भएकाले त्यस्ता समयमा चेकजाँच कडा पारिएको हो । प्रहरी स्रोतका अनुसार तस्करहरूले त्यस्ता भीडभाडयुक्त र अनुगमन कमजोर हुने समयको दुरुपयोग गर्दै आएका छन् ।
प्रहरीले सीमावर्ती बस्तीमा समुदायसँग सहकार्य गर्दै गोप्य सूचना संकलन, निगरानी, सादा पोसाकका प्रहरीको परिचालन र स्थानीय प्रशासनसँगको समन्वयमा कारबाही अभियान चलाएको छ । सीमावर्ती क्षेत्रमा तस्करीसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिएका छन् ।
एसपी चिमरिया भन्छन्, ‘हामीले नाकामा निगरानी कडा पारेका छौं । सीमाका साना व्यापारीदेखि ढुवानीमा संलग्न व्यक्तिहरूसम्म निगरानीमा छन् ।’ उनका अनुसार विगतमा कानुनी कमजोरी, स्रोतको अभाव र तस्करहरूको सञ्जाल बलियो हुँदा कारबाहीमा समस्या थियो । तर, अहिले प्रहरी, भन्सार र स्थानीय प्रशासनबीचको समन्वयले तस्करी नियन्त्रणमा उल्लेख्य परिणाम दिन थालेको प्रहरीको भनाइ छ ।
उनका अनुसार भारततर्फबाट आउने अवैध औषधि, कपडा, खाद्य सामग्रीको मात्रा घट्दै गएको छ भने नेपालतर्फबाट पठाइने सुपारी, मदिरा, गुट्खाजस्ता वस्तु नियन्त्रणमा आउन थालेका छन् । स्थायी चेक पोस्ट, मोबाइल गस्ती, गोप्य अपरेसन र सादा पोसाकका निगरानी संयन्त्र प्रभावकारी बनाइएको चिमरियाले बताए । केही व्यापारी र तस्करीमा प्रत्यक्ष लाभ लिने पक्षहरूले प्रहरीको कडाइप्रति असन्तुष्टि जनाए पनि मोरङ प्रहरीले कानुनी दायरामा रहेर अभियान सञ्चालन भइरहेको बताएको छ ।
एसपी चिमरियाका अनुसार तस्करी रोक्ने प्रयासले दीर्घकालीन रूपमा राज्यको राजस्व अभिवृद्धि गर्नेछ । साथै सुरक्षा संयन्त्र सुदृढ हुने र आपराधिक गतिविधिमा पनि नियन्त्रणमा मद्धत पुग्नेछ । प्रहरीले तस्करी नियन्त्रण अभियानलाई अझ सशक्त बनाइँदैछ । त्यसका लागि स्थानीय तह, समुदाय र अन्य सरोकारवालासँग सहकार्यलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया