काठमाडौँ : नेकपा (एमाले) केन्द्रीय कमिटीले सक्रिय राजनीतिमा रोक लगाउने निर्णय गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पहिलोपटक सार्वजनिक रूपमा आफ्ना धारणा सार्वजनिक गर्न लागेकी छन्।
भण्डारीले आज दिउँसो ३ बजे काठमाडौँको बबरमहलस्थित कार्की पार्टी प्यालेसमा विशेष पत्रकार सम्मेलन आयोजना गर्ने भएकी हुन्।
उनको सचिवालयका अनुसार पत्रकार सम्मेलनमा एमालेको पछिल्लो निर्णयप्रति औपचारिक प्रतिक्रिया सार्वजनिक गरिने छ।
पूर्वराष्ट्रपति भण्डारीका पक्षमा एमालेभित्र केही नेताहरूले ‘राजनीतिक योगदानलाई बेवास्ता गरियो’ भन्ने असन्तोष सार्वजनिक गर्दै आएका छन्। तर, मङ्गलवार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले भने भण्डारीको पार्टी सदस्यता अमान्य घोषित गर्दै उनी अब पार्टी राजनीतिमा संलग्न हुन नपाउने निर्णय गरेको थियो।
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा फर्कन इच्छुक रहेको चर्चा पछिल्लो समय तीव्र बनेको थियो। उनले केही महिनाअघि एमालेका कार्यक्रमहरूमा उपस्थित हुने क्रम बढाएकी थिइन्।
यही पृष्ठभूमिमा एमालेले स्पष्ट निर्णय लिँदै उनलाई ‘पूर्वराष्ट्रपतिको गरिमा अनुरूप’ निष्क्रिय भूमिकामा सीमित रहन आग्रह गर्दै राजनीतिक गतिविधिमा रोक लगाएको हो।
एमालेको निर्णयपछि भण्डारीको यो पत्रकार सम्मेलनले राजनीतिक वृत्तमा नयाँ बहस चर्काउने देखिएको छ।
प्रतिक्रिया