कोशीमा अपराधी नियन्त्रणमा प्रहरीको सक्रियता : एक वर्षमा १ हजार ४ सय १६ वर्षभन्दा बढी कैद सजाय

शनिबार, १० साउन २०८२

विराटनगर : कोशी प्रदेशमा फरार रहेका अपराधीलाई पक्राउ गर्न प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। आर्थिक वर्ष २०८१/०८२ मा प्रहरीले ३ हजार ५ सय १३ जना फरार प्रतिवादीलाई पक्राउ गर्दै १ हजार ४ सय १६ वर्षभन्दा बढी कैद सजाय र १४ करोड ७७ लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गर्न सफल भएको छ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी ध्रुवकुमार श्रेष्ठका अनुसार, पक्राउ परेका प्रतिवादीहरूमाथि अदालतले पहिल्यै दोषी ठहर गर्दै कैद तथा जरिवानाको फैसला गरेको थियो। तर, उनीहरू लामो समयदेखि फरार रहँदै आएका थिए।

फरार प्रतिवादी पक्राउमा मोरङ अग्रस्थानमा रहेको छ। जिल्लाबाट १ हजार १ सय ५६ जना प्रतिवादी पक्राउ परेका छन्। मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाको नेतृत्वमा इन्स्पेक्टर सरोज खनालको विशेष टोलीले अभियान सञ्चालन गरेको हो।

सुनसरीबाट १ हजार २ जना पक्राउ परेका छन्। एसपी सुमनकुमार तिम्सिनाको नेतृत्वमा प्रहरी सक्रिय रहेको सुनसरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए।

अन्य जिल्लाको अवस्था

  • झापा : ५३४

  • उदयपुर : २६०

  • इलाम : १४६

  • ओखलढुंगा : ६९

  • धनकुटा : ५७

  • खोटाङ : ५३

  • ताप्लेजुङ : ४८

  • तेह्रथुम : ४५

  • भोजपुर : ४४

  • पाँचथर : ४२

  • संखुवासभा : २८

  • सोलुखुम्बु : १४

  • प्रादेशिक अनुसन्धान समूहद्वारा : १५

‘अपराध गर्ने छुट छैन’
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले फरार प्रतिवादी पक्राउ अभियानबाट समाजमा ‘अपराध गरेर भागेर बच्न सकिँदैन’ भन्ने सन्देश प्रवाह भएको बताए। "ढिलो होस् वा चाँडो, अपराध गर्नेलाई प्रहरीले पक्कै पक्राउ गर्छ," डीआईजी कार्कीले भने।

उनका अनुसार अपराधी खुलेआम हिँड्दा शान्ति सुरक्षामा चुनौती थपिन्छ, पीडितले न्याय पाउँदैनन् र समाजमा नकारात्मक असर पर्छ। यस्तो अवस्था न्यूनीकरण गर्न प्रहरीले सूचना प्रविधिको प्रयोग गर्दै समुदायसँग सहकार्यमा विशेष रणनीति अघि सारेको कार्कीले बताए।

डीआईजी कार्कीले फरार प्रतिवादी फेला पार्न नागरिकको सहयोग आवश्यक रहेको बताए। "छिमेकमा लुकेका अपराधीबारे प्रहरीलाई सूचना दिनुहोस्, प्रहरीले तपाईंको परिचय गोप्य राख्छ र सुरक्षा पनि गर्छ," उनले भने।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार