काठमाडौँ/गया : भारतको बिहार राज्यको गया जिल्लामा मानवतामाथि कलङ्क लाग्ने एक घृणित घटना सार्वजनिक भएको छ।
होम गार्ड भर्तीको दौडका क्रममा बेहोस भएकी एक महिलामाथि एम्बुलेन्समै बलात्कार भएको छ।
पीडित महिलालाई अस्पताल लैजाँदै गर्दा एम्बुलेन्स चालक र प्राविधिकले मिलेर बाटोमै बलात्कार गरेको पुष्टि भएपछि दुवै जनालाई पक्राउ गरिएको छ।
गया जिल्लाका एसएसपी आनन्द कुमारका अनुसार, पीडित महिलाले अस्पताल पुगेर घटना विवरण दिएकी थिइन्। सूचना पाएको २ घण्टाभित्रै एम्बुलेन्स चालक विनय कुमार र प्राविधिक अजित कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
सिसिटिभी फुटेजबाट खुले आरोप
घटनास्थल आसपास राखिएका सिसिटिभी क्यामेराको जाँचपछि प्रहरीले दुवै अभियुक्तको पहिचान गर्न सफल भएको जनाएको छ।
बोधगया प्रहरी चौकीमा बलात्कारको मुद्दा दर्ता गरिएको छ र एसएसपी कुमारले प्रारम्भिक अनुसन्धानपछि दुवै विरुद्ध आरोप पत्र दायर गरिने बताएका छन्।
घटनाले बिहार राज्यमा आक्रोश चर्काएको छ। सार्वजनिक सेवाका जिम्मेवार कर्मचारीबाटै यस्तो घृणित अपराध भएको भन्दै स्थानीय नागरिक र सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ।
घटना सार्वजनिक भएपछि बिहार राज्य सरकारले घटनाबारे थप अनुसन्धान गर्न उच्चस्तरीय टोली पठाएको जनाइएको छ।
प्रतिक्रिया