सुनसरी : इटहरीका एक युवाको मृत्युप्रति परिवारले प्रहरीमाथि आरोप लगाएका छन् । परिवारका अनुसार धरानस्थित तीनकुने प्रहरी चौकीमा चेकजाँचका क्रममा भएको कुटपिटले २० वर्षीय युवराज निरौलाको मृत्यु भएको हो । तर, प्रहरीले भने कुटपिटको आरोप प्रमाणहीन रहेको दाबी गरेको हो ।
इटहरी उपमहानगरपालिका–२ निवासी निरौला र उदयपुर बेलका–३ का २२ वर्षीय दीपक कटुवाल गत साउन ९ गते साँझ करिब ८ बजे धरान जाने क्रममा चेकजाँचमा परेका थिए । प्रहरीले दुबैजनालाई लागूऔषध सेवन गरेको आशंकामा रोकेको थियो ।
मृतकका भाइ सन्तोष निरौलाका अनुसार प्रहरीसँगको सोधपुछका क्रममा विवाद भएपछि प्रहरीले युवराजमाथि हात र बुटले छाती र टाउकोमा निर्घात प्रहार गरेका थिए । उनले भने, ‘उनीहरू चेकजाँचमा परेपछि सामान्य झैझगडा भएको थियो । त्यसपछि मेरो दाजुलाई चौकीमै कुटियो । उपचारकै क्रममा विराटनगर कोशी अस्पतालमा उनको ज्यान गयो ।’
यता इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले कुटपिटको आरोप अस्वीकार गर्दै भने,‘कुटपिट ग¥यो भनेर त जसले पनि भन्छ । तर तथ्य र प्रमाण हुनुपर्छ । उनीहरू लागूऔषध सेवन गरेर आएको भन्ने आशंका थियो । चेकजाँच गर्दा उल्टै प्रहरीले सोधपुछ गर्न नपाउँदै भागे । दुई घण्टा पछि शनि मन्दिर छेउमा लडिरहेको अवस्थामा भेटिएको हो । त्यसपछि उपचारका लागि पठाइएको थियो ।’
उनका अनुसार युवराजलाई सुरुमा धरानस्थित घोपा अस्पताल लगिएको थियो । त्यहाँबाट विराट टिचिङ अस्पताल र पछि कोशी अस्पताल रिफर गरियो, जहाँ उपचारको क्रममा मृत्यु भएको हो ।
परिवारले घटना सम्बन्धमा भने निष्पक्ष छानबिनको माग गरिरहेको छ, भने घटना सम्बन्ध थप अनुसन्धान भइरहेको धरान इलाका प्रहरी कार्यलय धरानले जनाएको छ ।
प्रतिक्रिया