इटहरी : निर्माण सामग्री खरिद गर्ने नाममा सुनसरीको रामधुनी नगरपालिका–३ का रमेन्द्र पौडेलले व्यवसायी, प्रहरी कर्मचारी र सर्वसाधारणलाई समेत ठगी गरेर फरार भएका छन्। विश्वास जितेर कारोबारको शुरुआत गरेका पौडेल अन्त्यमा करोडौं रुपैयाँ उठाएर सम्पर्कविहीन भएका हुन्।
पौडेलले ‘आधारशिला सप्लायर्स’ नामक कम्पनीमार्फत विभिन्न व्यवसायीहरूबाट निर्माण सामग्री उठाएर चेक मार्फत भुक्तानी गर्ने अभ्यास गरेका थिए। तर तीमध्ये धेरै चेक बाउन्स भएपछि ठगी भएको पुष्टि भएको हो।
पीडित टेकनाथ ढकालका अनुसार २०७८ र २०७९ सालको अवधिमा पौडेलले १ करोड ३४ लाख ५८ हजार रुपैयाँ बराबरको चारवटा चेक दिएका थिए, तर तीमध्ये दुई एभरेष्ट केमिकल ट्रेडर्स र दुई रमा ढकालको नाममा काटिएका चेक सबै बाउन्स भएका छन्। ढकालका अनुसार हालसम्म पौडेलसँग १ करोड ७५ लाख रुपैयाँ बराबरको रकम उठाउन बाँकी छ।
"सुरुमा सानो सामान लिने, तुरुन्तै पैसा तिर्ने शैली थियो। त्यसैले विश्वास गरियो। पछि ठूलो कारोबारमा फसेँ," ढकालले भने।
यस प्रकरणमा निजी व्यवसायी मात्र होइन, प्रहरी कर्मचारीसमेत ठगीमा परेका छन्। चिनजानकै आधारमा पौडेलले एक प्रहरी कर्मचारीसँग तीन लाख रुपैयाँ सापटी लिएर फरार भएका छन्। ती पीडित प्रहरीका अनुसार, "मैले अरूलाई सतर्क गराउँथे, तर आफैँ ठगिएँ।"
पौडेलविरुद्ध कानुनी प्रक्रिया पनि अघि बढेको छ। इटहरीका व्यवसायी गोपालकृष्ण श्रेष्ठले २०८१ साल भदौ ३१ गते सुनसरी जिल्ला अदालतमा चेक बाउन्ससम्बन्धी मुद्दा दायर गरेका थिए। अदालतले पौडेललाई दुई लाख २० हजार रुपैयाँ तिर्न आदेश दिएको छ। तर, आदेशपछि पनि उनी फरार नै छन्।
ठगीसम्बन्धी उजुरी जिल्ला प्रशासन कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय सुनसरीमा समेत दर्ता गरिएको छ। मोरङ प्रशासनले २०८२ असार १६ गते जिल्ला प्रहरी कार्यालय मोरङलाई पत्र पठाउँदै पौडेललाई छलफलका लागि उपस्थित गराउन निर्देशन दिएको थियो। तर, अहिलेसम्म पक्राउ परेका छैनन्।
पौडेल अहिले प्रत्यक्ष रुपमा देखिए पनि, अप्रत्यक्ष रूपमा धम्की दिने, पीडितमाथि दबाब सिर्जना गर्ने काम गरिरहेको पीडित पक्षको भनाइ छ। उनका पूर्वकर्मचारीका अनुसार, "उनले अन्य व्यक्तिहरूलाई प्रयोग गरी पीडितको घरमा पुगेर मुद्दा मिलाउन धम्की दिइरहेका छन्।"
रामधुनी, इटहरी र विराटनगर क्षेत्रका थुप्रै व्यापारी र सर्वसाधारण पौडेलको ठगीको शिकार बनेका छन्।
प्रतिक्रिया