सोलुखुम्बु : मानव बेचबिखन विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सोलुखुम्बुमा प्रभातफेरीसहितको सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको आयोजनामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेको प्रमुख आतिथ्य, प्रहरी नायव उपरीक्षक मनोजित कुँवरको संयोजन तथा जिल्लास्थित सुरक्षाकर्मी, जनप्रतिनिधि, विभिन्न संघ–संस्था, महिला समूह र स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
"Human Trafficking is Organized Crime – End the Exploitation" भन्ने अन्तर्राष्ट्रिय नारासहितको प्रभात फेरी कार्यक्रम सोलुखुम्बु बजार परिक्रमा गरी सञ्चालित भएको हो। सहभागिहरूले जनचेतनामूलक पर्चा, पम्प्लेट वितरण गर्दै मानव बेचबिखनजस्तो गम्भीर अपराधविरुद्ध सशक्त सन्देश प्रवाह गरेका थिए।
प्रभात फेरीपछि सोलुदुधकुण्ड नगरपालिका–५ आवाडाँडामा पुगेर अन्तिम सचेतनामूलक सत्र सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्थानीय सञ्चारकर्मी, महिला मानव अधिकार रक्षक सञ्जाल, सरकारी तथा गैर–सरकारी संस्था र सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रहरीले मानव बेचबिखन विरुद्धको अभियानमा स्थानीय सरोकारवाला निकाय र समुदायको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्तरूपमा यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया