बीपी प्रतिष्ठानको प्रतिष्ठा जोगाऔं !

शनिबार, ३१ साउन २०८२

नेपालको स्वास्थ्य शिक्षा र सेवा क्षेत्रमा प्रमुख स्तम्भ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाल चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । विगतका वर्षहरूमा कर्मचारी आन्दोलन, प्रशासनिक अस्थिरता, सेवा विस्तारमा ढिलाइ, बजेटको अनियमित प्रयोग र राजनीतिक रूपमा समेत देखा पर्ने विवादहरूले संस्थाको प्रतिष्ठामा असर पारिरहेका छन् । जसले गर्दा विद्यार्थी, कर्मचारी र स्थानीय समुदायमा असन्तुष्टि बढाएको छ । 

यही प्रतिष्ठानमा नयाँ उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठको नियुक्तिले प्रतिष्ठानमा सुधार र स्थायित्वको आशा जगाएको छ । अर्थोपेडिक क्षेत्रका विशेषज्ञ उनै डा. श्रेष्ठको काँधमा बीपी प्रतिष्ठानको मेरुदण्डलाई दह्रो बनाई प्रतिष्ठालाई उचो बनाउने जिम्मेवारी आएको छ ।  यसका लागि उनको दृष्टिकोणमा शैक्षिक गुणस्तर, आधुनिक स्वास्थ्य सेवा, अनुसन्धान र पारदर्शिता मुख्य प्राथमिकता हुनैपर्ने हुन्छ । 

यस अवधिमा संस्थाले शैक्षिक कार्यक्रम र पाठ्यक्रमलाई आधुनिक बनाउँदै डिजिटल शिक्षण प्रणालीको विकास गर्न आवश्यक छ । अध्ययनको सिट क्षमताको वृद्धि, अवसरहरूको सृजना, विद्यार्थी र शिक्षकहरूलाई नवीनतम ज्ञान र प्रविधि प्रयोगमा सक्षम बनाउने अनुसन्धानलाई बलियो बनाउनु पर्दछ । अस्पतालको सेवा सुधार र विस्तार पनि अत्यावश्यक छ । बिरामीले महिनौँसम्म पालो पर्खनुपर्ने बाध्यताको अन्त्य गराउनु श्रेष्ठका लागि महत्त्वपूर्ण काम हुने छ । 

बिरामी केन्द्रित सेवा, अत्याधुनिक उपकरणको उपलब्धता, आधुनिक प्रविधि र दूर दराजका क्षेत्रसम्म सेवा पहुँच सुनिश्चित गर्दा संस्थाको छवि बलियो हुनेछ । ग्रामीण क्षेत्रका बिरामीलाई समयमै स्वास्थ्य सेवा पु¥याउन बीपीले जसरी विगतका दिनमा योगदान गरेको छ । त्यसको निरन्तरताका साथै थप सुदृढ बनाउन आवश्यक छ । 

अर्कोतर्फ प्रशासनिक सुधार बिना दीर्घकालीन सुधार पनि सम्भव छैन । कर्मचारी नियुक्ति, पदोन्नति, बजेट र निर्णय प्रक्रियामा पारदर्शिता कायम गर्नुपर्छ । जबाफदेहिता र स्पष्ट नीति संस्थामा विश्वास बढाउने महत्त्वपूर्ण पक्ष हुन् । साथै, स्थानीय प्रशासन, स्वास्थ्य मन्त्रालय र नागरिकसँग सकारात्मक संवाद कायम गर्नु आवश्यक छ । यसले संस्थाको सार्वजनिक छवि मजबुत बनाउँछ र बाहिरी स्रोतको सहकार्य सुनिश्चित गर्छ ।

बीपी प्रतिष्ठान केवल शिक्षा र सेवा केन्द्र मात्र होइन, यो नेपालको स्वास्थ्य प्रणालीको स्तम्भ पनि हो । वर्तमान चुनौतीलाई अवसरको रूपमा प्रयोग गरेर संस्थाले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा पनि उदाहरणीय स्वास्थ्य शिक्षा र सेवा केन्द्रको रूपमा आफ्नो पहिचान बनाउन सक्छ । सुधार, नेतृत्वको दृढता र नवीनतम योजना अपनाएर बीपीले आफ्नो प्रतिष्ठा र प्रभावकारिता पुनः स्थापित गर्न सक्षम पनि छ ।

सङ्कटको समयमा पनि सुधारको दिशा अपनाएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सबल, गुणस्तरीय र भविष्यमुखी बनाउने अवसर छ । शैक्षिक र स्वास्थ्य सेवा क्षेत्रमा यसको योगदानलाई अझै बलियो बनाउने जिम्मेवारी वर्तमान नेतृत्वको काँधमा छ ।

यो अवसरलाई सदुपयोगका साथ बीपी प्रतिष्ठानको प्रतिष्ठालाई उचो बनाऊ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार