काठमाडौँ : नेपाल प्रिमियर लिग (NPL) का खेलमा जुवा खेलाउने साइटका विज्ञापन देखिएपछि विज्ञापन बोर्डले कठोर निर्णय गरेको छ ।
नेपाल क्रिकेट सङ्घ (CAN) ले गत २०८१ मङ्सिर १५ देखि पुस ६ गतेसम्म ट्वान्टी फर्स्ट सेन्चुरी मिडिया कम्पनीमार्फत स्टार स्पोर्टस च्यानलमा खेलहरू प्रसारण गर्दा 1XBAT, Wolf-777, Dafa News जस्ता जुवा साइटका विज्ञापन टि–सर्ट, मैदान र खेलभित्र प्रयोग भएको उजुरीपछि छानबिन गरी कारबाही गरिएको बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बोर्डको २०८२ साउन २१ र २९ गतेको बैठकले विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ को आधारमा निर्णय गर्दै CAN लाई भविष्यमा यस्ता विज्ञापन नगर्न चेतावनी दिएको छ । बोर्डले पटक–पटक पठाएको पत्रको चित्तबुझ्दो जवाफ नपठाएको भन्दै CAN लाई विज्ञापन नियमन ऐन, २०७६ अनुसार सचेत गराउँदै आवश्यक परे विज्ञापन गर्न–गराउनै रोक्का गर्ने चेतावनी दिएको छ ।
त्यस्तै, ब्रान्ड डिजिटल लजिक प्रा.लि. (ललितपुर) र टि.सि.एम. स्पोर्टस एण्ड मार्केटिङ प्रा.लि. (टंगाल, काठमाडौँ) लाई बोर्डमा सूचीकृत नभई अवैध रूपमा विज्ञापन कारोबार गरेको र जुवा–सम्बन्धी विज्ञापन प्रसारण गरेको ठहर गर्दै १०–१० हजार रुपैयाँ जरिवाना गरिएको छ । साथै, यी दुवै एजेन्सीलाई ३ महिनासम्म कुनै पनि विज्ञापन कारोबारमा प्रतिबन्ध लगाइएको छ ।
विज्ञापन बोर्डका प्रमुख प्रशासकीय अधिकृत तथा प्रवक्ता देवी पाण्डे (खत्री) ले सबै विज्ञापनदाता र सञ्चारमाध्यमलाई २०८२ कार्तिक २० गतेसम्म उक्त दुई कम्पनीसँग कुनै कारोबार नगर्न आग्रह गरेकी छन् ।
बोर्डले जुवालाई प्रवर्धन गर्ने कार्य गरेको भन्दै नेपाल क्रिकेट सङ्घ क्यानमाथि थप कारबाहीको लागि युवा खेलकुद मन्त्रालयमा पत्राचार समेत गरेको छ । साथै जुवा खेल्ने खेलाउने कार्य गरेको भन्दै गृह मन्त्रालय र नेपाल प्रहरीलाई अनुरोध गर्दे बोर्डले पत्राचार गरेको स्रोतले जानकारी दिएको छ ।
क्यानले नेपालमा डाउनलिंक अनुमति नै नभएको स्टार स्पोर्टस् सँग गरेको सम्झौताका विरुद्धमा सूचना तथा प्रसारण विभागलाई पत्राचार गरेकोमा कुनै कारबाही नगरेको भन्दै आइन्दा त्यस्ता कार्य गर्न नदिनको लागि सूचना तथा प्रसारण विभागलाई समेत अनुरोध गरेको छ ।
विज्ञापन बोर्डले विज्ञापन एजेन्सीमाथि १० हजार जरिवाना र तीन महिना सम्मको कारबाही रोक्का राख्ने निर्णय गरेको यो दोस्रो पटक हो । २०८० साल माघ महिनामा कोकिल मिडिया प्रा.ली. अनामनगरले अत्यधिक मुनाफा राखी विज्ञापन गरेको भन्दै उक्त एजेन्सीलाई १० हजार रुपैयाँ जरिवाना र तीन महिना कारोबार रोक्का राख्ने निर्णय गरेको थियो ।
स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र टेकुसँग प्रति स्पट १०६ रुपैयाँ ६१ पैसामा सम्झौता गरी ११ रुपैयाँ ११ पैसामा रेडियोमा प्रसारण आदेश पठाई प्रति स्पट ९८ रुपैयाँ ५० पैसा मुनाफा लिएको भन्दै बोर्डले कारबाही गरेको थियो ।
नेपाल क्रिकेट सङ्घ क्यानमाथि भएको कारबाहीको सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा विज्ञापन बोर्डका कार्यकारी अध्यक्ष लक्ष्मण हुमागाईँले कारबाही नियमित प्रक्रिया भएको भन्दै कानुन विपरीतका कार्य नगर्न अनुरोध गरे। उनले विज्ञापन बजारमा देखिएका विकृतिलाई हटाउन बोर्ड प्रयासरत रहेको जानकारी दिए ।
प्रतिक्रिया