काठमाडौँ। सगरमाथा आरोहणको कथा र त्यसक्रममा विकसित प्रेमकथामा आधारित नेपाली चलचित्र ‘जेरी अन टप’ आजदेखि देशभर प्रदर्शनमा आएको छ।
चलचित्रले सगरमाथा र नेपालको प्राकृतिक सौन्दर्यलाई मुख्य विषय बनाएर नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अभिनेता अनमोल केसीले बताएका छन्। चलचित्र भवनमा दर्शकको प्रतिक्रिया लिँदै उनले सगरमाथालाई नेपाली स्रोत र साधनबाट प्रस्तुत गर्नु मुख्य चुनौती भएको बताए।
“हामीले सगरमाथालाई नेपाली बजार र प्रविधिको सन्दर्भमा कसरी यथार्थ रूपमा देखाउन सकिन्छ भन्नेमा धेरै छलफल गरेका थियौँ,” उनले भने, “सबैको मेहनतका कारण अहिले चलचित्र तयार भएको छ।”
चलचित्रमा अनमोलले सगरमाथा आरोही युवाको भूमिका निर्वाह गरेका छन् भने जसिता गुरुङले उनलाई सहयोग गर्ने ‘गाइड’को भूमिका निभाएकी छन्। दुवैले अभिनयलाई स्वाभाविक देखाउन एक महिना प्रशिक्षण पनि लिएका थिए।
अभिनेत्री गुरुङले हिमालसँग नजिक युवतीको पात्रका लागि विशेष तयारी गरेको बताउँदै चलचित्रले नेपालको हिमाली सुन्दरतालाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने विश्वास व्यक्त गरिन्। अभिनेत्री आँचल शर्माले पनि ‘जेरी’ चलचित्रको लोकप्रियता सम्झिँदै ‘जेरी अन टप’ले नयाँ पुस्तालाई चलचित्र हलसम्म आकर्षित गर्ने विश्वास व्यक्त गरिन्।
प्रस्तुतकर्ता सरोज न्यौपानेका अनुसार चलचित्रले युवापुस्ताको कथा मार्फत नेपालको सौन्दर्य र पर्यटनलाई उजागर गर्ने उद्देश्य राखेको छ।
‘अनन्या फिल्म्स प्रोडक्सन’को ब्यानरमा बनेको चलचित्रमा अनमोल केसीसँगै भुवन केसी, आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ‘माग्नेबुढा’ र उषा खड्गीको अभिनय छ। चलचित्रको निर्देशन सुयोग गुरुङले गरेका हुन् भने कथा हेमराज विसी, पटकथा विश्वास तिम्सिना र छायाङ्कन दुलिप रेग्मीले गरेका हुन्।
प्रतिक्रिया