मोरङः मोरङको सुनवर्षी नगरपालिका–८ नेपालचोक दसगजास्थित पानीको नालामा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
शुक्रबार बिहान करिब साढे ७ बजे नालामा घोप्टो परी एक युवकको शव देखिएको जानकारी पाएपछि प्रहरीले घटनास्थल पुगेर आवश्यक प्रक्रिया अघि बढाएको हो।
प्रहरीका अनुसार प्रारम्भिक अवस्थामा मृतकको नाम, ठेगाना नखुलेको भए पनि पछिल्लो अनुसन्धानपछि उनी सुनवर्षी नगरपालिका–९ डाइनियाका करिब २६ वर्षीय प्रदिप पासवान रहेको खुल्न आएको छ।
मृतकको शव फेला परेको स्थानलाई इलाका प्रहरी कार्यालय सिकटीका टोलीले सुरक्षित गरी प्रारम्भिक अनुसन्धान थालेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षकको कमाण्डमा घटनास्थल पुगेको टोलीले आवश्यक प्रमाण संकलन गरी शवलाई पोष्टमार्टमका लागि रंगेली अस्पताल पठाएको प्रहरीले जनाएको छ।
घटनाको कारण र वास्तविकता खुलाउन थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रतिक्रिया