कान्तिपुर भेट डिस्ट्रिब्युटर्सका सञ्चालक हेमराज बडाल पक्राउ

शुक्रबार, ३१ असोज २०८२

काठमाडौं : लिखत सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिका थप एक जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सका सञ्चालक हेमराज बडाल रहेका छन् ।

पशु सेवा विभाग अन्तर्गत आयात–निर्यात सिफारिस, पशुजन्य उद्योग स्थापना तथा बिक्री वितरण अनुमति सम्बन्धी प्राविधिक समितिको निर्णयअनुसार जारी गरिएको सिफारिस पत्रमा किर्ते गरी नेपालमा दर्ता नभएका पशु औषधि आयात गरिएको पाइएको थियो।

नेपाल सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालय, पशु सेवा विभाग, राष्ट्रिय पशु आहारा तथा लाईभस्टक गुण व्यवस्थापन प्रयोगशाला, हरिहर भवन, ललितपुरबाट कान्तिपुर भेट डिष्ट्रिब्यूटर्सलाई भन्सार शुल्क लाग्ने गरी पशु फिड सप्लिमेन्ट, प्रोबायोटिक्स, भिटामिन, मिनरल र टक्सिन वाइण्डर आयात गर्न सिफारिस गरिएको थियो। तर सो सिफारिस पत्रलाई किर्ते गरी फ्लोक्योर, फ्लोरुटिन १० प्रतिशत, फ्लोरुटिन ४५ प्रतिशत,बिनोडक्स, लेभोफ्लक्स बीएच, पाइपराजिन लगायतका नेपालमा दर्ता नभएका औषधिहरू विभिन्न भन्सार कार्यालयमा पेश गरी आयात गरिएको देखिएको हो।

यस विषयमा अनुसन्धान अघि बढाउँदै जाँदा ललितपुर जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त गरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), लाजिम्पाटबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–३१, शंखमुल निवासी ५३ वर्षीय बडाललाई त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट पक्राउ गरेको हो।

पक्राउ परेका बडाललाई हाल थप अनुसन्धानका लागि सीआईबीमा राखिएको छ। प्रहरीकाअनुसार उक्त प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको पनि संलग्नता खोजी कार्य भइरहेको छ। यस अघि बडालकी श्रीमती अर्थात् कान्तिपुर भेट डिस्ट्रिब्युटर्सको अध्यक्ष पक्राउ परेकी थिइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार